काठमाडौं-नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले वर्तमान सरकारको कार्यशैली र संवैधानिक हैसियतप्रति प्रश्न उठाउँदै सरकारलाई ‘जरासन्ध’ को संज्ञा दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पोखरेलले सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मअनुसार नभएको आरोप लगाए। उनले बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले सरकार संवैधानिक जस्तो देखिए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरे।
पोखरेलले आफ्नै दलको बैठकमा सहभागी नहुने शैलीले सरकार निर्दलीय जस्तो देखिएको, सर्वदलीय बैठकमा नजाने प्रवृत्तिले एकदलीय चरित्र झल्किएको तथा भूमिगत गिरोहबाट सञ्चालित पञ्चायती व्यवस्थाको झल्को दिने अवस्था देखिएको बताए।
‘बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री हुँदा पनि यो सरकार संवैधानिक जस्तो देखिँदैन। आफ्नै दलको बैठकमा सहभागी नहुने निर्दलीय शैली, सर्वदलीय बैठकबाट भाग्ने एकदलीय चरित्र र भूमिगत गिरोहको प्रभावमा चल्ने पञ्चायती व्यवस्थाको झल्को दिने यो सरकारको स्वरूप कस्तो हो ?’ उनले प्रश्न गरे।
सरकारको सञ्चालन क्रममा राष्ट्रपति संस्थाको गरिमासमेत बेवास्ता गरिएको आरोप लगाउँदै उनले सरकारको वास्तविक स्वरूपबारे स्पष्टता आवश्यक रहेको बताए।
महाभारतकालीन पात्र ‘जरासन्ध’ को प्रसंग उल्लेख गर्दै पोखरेलले भने, ‘जरा नामकी राक्षसीले दुई आधा शरीर जोडेर जरासन्ध जन्माएझैँ यो सरकारको बनोट र शैली पनि त्यस्तै देखिएको छ।’
उनले सरकारको कार्यशैली लोकतान्त्रिक प्रणाली र संवैधानिक अभ्याससँग मेल नखाने दाबी गर्दै सुधारको आवश्यकता औँल्याए।



प्रतिक्रिया