अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारका लागि महानगरले गर्‍यो सम्झौता

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारका लागि महानगरले गर्‍यो सम्झौता


काठमाडौं-ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र डल्लु सामुदायिक स्वास्थ्य परिषद्सँग सम्झौता गरेको छ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बिहीबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठ र डल्लु सामुदायिक स्वास्थ्य परिषद्का उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याएर स्वास्थ्य जाँच गराउन सक्नु कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने महत्वपूर्ण सूचक भएको बताइन्।

उनले अस्पताल आउने ज्येष्ठ नागरिकको सेवा थप सहज र सरल बनाउनुपर्नेमा जोड दिँदै रोग सहेर घरमै बसिरहेका ज्येष्ठ नागरिकलाई अस्पतालसम्म ल्याउनुपर्ने बताइन्। सेवाग्राहीको उमेर, लिङ्ग, शारीरिक अवस्था र प्रदान गरिएको सेवासहितका विवरण राखेर मासिक प्रतिवेदन बुझाउन उनले सम्बन्धित संस्थालाई आग्रह गरिन्।

डंगोलका अनुसार महानगरपालिकाले घरघरमै पुगेर २ हजार ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिसकेको छ। छत्रपाटी निःशुल्क चिकित्सालयमार्फत १४ हजार ५४३ पटक र डल्लु सामुदायिक स्वास्थ्य परिषद्मार्फत १ हजार २१५ जनालाई निःशुल्क स्वास्थ्य जाँच सेवा प्रदान गरिएको छ।

त्यस्तै, ३ हजार ३ सय ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाइएको र महानगरका विभिन्न वडाबाट १० हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई तीर्थाटन गराइएको उनले जानकारी दिइन्।

महानगरपालिकाले १० वटा ज्येष्ठ नागरिकमैत्री पार्क सञ्चालनमा ल्याएको छ। यस्तै, १२ हजार ३८३ ज्येष्ठ नागरिकलाई वार्षिक प्रतिव्यक्ति १२ हजार रुपैयाँका दरले पोषण भत्ता उपलब्ध गराउँदै आएको छ।

डंगोलका अनुसार ५ हजार ३९७ जना ज्येष्ठ नागरिकले महानगरपालिकाबाट निःशुल्क कानुनी सेवा पनि प्राप्त गरेका छन्।