अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको गतिविधिले जनआक्रोश बढ्दैछ, परिणाम गम्भीर हुनसक्छ: महाराज गुरुङ

सरकारको गतिविधिले जनआक्रोश बढ्दैछ, परिणाम गम्भीर हुनसक्छ: महाराज गुरुङ


सल्यान-राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै सरकारका गतिविधिका कारण जनआक्रोश बढ्दै गएको दाबी गरेका छन्।

राष्ट्रिय युवा संघ नेपाल सल्यानको १२औँ जिल्ला अधिवेशनको शनिबार श्रीनगरमा उद्घाटन गर्दै गुरुङले बालेन्द्र साहले अराजकता सिर्जना गरी युवालाई भड्काएर विद्रोहको वातावरण बनाउँदै सत्तामा पुगेको आरोप लगाए। उनले वर्तमान कार्यशैली निरन्तर रहे राजनीतिक नेतृत्व र उनीहरूका परिवारले समेत गम्भीर सामाजिक प्रतिरोधको सामना गर्नुपर्ने चेतावनी दिए।

“बालेन्द्र साह अराजकता मच्चाएर युवाहरूलाई भड्काएर त्यसअनुसारको विद्रोह गरेर जसरी सत्तामा पुगेका छन्, त्यसको परिणाम गम्भीर हुनसक्छ,” गुरुङले भने। उनले सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि बढ्दै गए त्यसको असर सरकारमा रहेका व्यक्तिका परिवारसम्म पुग्न सक्ने धारणा राखे।

गुरुङले प्रधानमन्त्री साहले रिस उठेका व्यक्तिलाई मध्यरातमा कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गर्ने जस्ता कार्यशैली अपनाएको दाबी गर्दै त्यस्ता गतिविधिले समाजमा थप उत्तेजना सिर्जना गर्न सक्ने बताए। यस्तो अवस्थामा नेकपा (एमाले) र राष्ट्रिय युवा संघमा आबद्ध युवाहरू उत्तेजित नभई संयमित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले सामाजिक सञ्जालका एल्गोरिदममार्फत गलत सूचना र भ्रम फैलिँदा युवाहरू त्यसको प्रभावमा पर्न सक्ने भन्दै तथ्यका आधारमा धारणा बनाउन आग्रह गरे। नयाँ पुस्ताको जोश र सिर्जनशीलतालाई पुरानो पुस्ताको अनुभवसँग जोडेर मात्रै समाजलाई सही दिशामा अघि बढाउन सकिने उनले बताए।

समाजलाई विभाजन गर्ने तथा युवालाई उत्तेजित बनाउने गतिविधिले सामाजिक सद्भाव कमजोर पार्ने भन्दै गुरुङले नेपाल र नेपालीको अस्तित्व, सामाजिक सद्भाव तथा सम्मानपूर्वक बाँच्ने वातावरण जोगाउन युवाको भूमिका महत्वपूर्ण रहेको बताए।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द पुन, जिल्ला कमिटी उपाध्यक्ष ओजबहादुर बुढाथोकी, सचिव पुष्पा बोहरा, उपसचिव गणेशमान सिंह, युवा संघ कर्णाली प्रदेश इन्चार्ज पञ्चमी रेग्मी र कर्णाली प्रदेश अध्यक्ष जीवन शाहीलगायतले युवाहरूलाई पार्टीको विचार, सिद्धान्त र संगठनप्रति प्रतिबद्ध बनाउँदै समाज परिवर्तनको अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।