अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन

आजदेखि कांग्रेसको १५औँ महाधिवेशन


काठमाडौँ-नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने कार्यक्रम छ।

असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न देशका प्रतिनिधि, राजनीतिक दलका शीर्ष नेता तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिको सहभागिता रहने कांग्रेसले जनाएको छ। उद्घाटनपछि भोलिदेखि बन्दसत्र सुरु हुनेछ।

महाधिवेशनमा सहभागी हुन देशभर तथा विदेशस्थित जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आएका छन्। प्रतिनिधिको ठूलो संख्यामा सवारीसाधनसमेत काठमाडौं भित्रिने भएकाले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार खुलामञ्चमा आउने प्रतिनिधिका सवारीसाधन पार्किङका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा विभिन्न स्थान तोकिएको छ।

उनका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ।

यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि थप सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाउन ट्राफिक प्रहरीसँग समन्वय भइरहेको संयोजक स्वाँरले जानकारी दिए।

महाधिवेशनका कारण काठमाडौं उपत्यकाको मुख्य सहरी क्षेत्रमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले प्रतिनिधि तथा सर्वसाधारणलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरिएको छ।