काठमाडौं-नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थल पुगेर उनले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सभापति पदको प्रतिस्पर्धामा उनी नेता गगन थापासँग भिड्ने भएका छन्।
नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका खड्गी विगत चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय छन्। उनी सिद्धार्थ वनस्थली विद्यालयका पूर्वशिक्षक समेत हुन्। सोही विद्यालयमा अध्ययनरत रहेका गगन थापालाई उनले अध्यापन गराएका थिए।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–६ का महाधिवेशन प्रतिनिधि रहेका खड्गी यसअघि सोही क्षेत्रको सभापतिमा निर्वाचित भइसकेका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनमा उनले पार्टी नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।



प्रतिक्रिया