अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय


काठमाडौं-दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागमा सोमबार बसेको सरोकारवालाहरूको बैठकले असोज २३ गतेदेखि देशभर सञ्चालन हुने लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले असोज २३ गतेदेखि यात्रुहरूले अग्रिम टिकट बुकिङ गर्न सक्ने जानकारी दिए।

लगातारको वर्षा तथा बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य राजमार्गहरू सरकारले तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालन सहज बनाउने प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीहरू टिकट बुकिङ खोल्न सहमत भएका हुन्।

बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा विभिन्न उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

पर्वका बेला यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ व्यवस्थाले यात्रुलाई सहज यात्रा व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।