अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म हुने

प्रस्तावित राजदूतको सुनुवाइ २६ देखि २८ असोजसम्म हुने


काठमाडौं-विभिन्न १३ देशका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने भएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार राजदूतमा सिफारिस गरिएका व्यक्तिहरूविरुद्ध तोकिएको समयसीमाभित्र कुल ७ वटा उजुरी दर्ता भएको संसदीय सुनुवाइ समितिले जनाएको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्राप्त उजुरीहरूको अध्ययन तथा छानबिन गरी सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ। उनले केही उजुरी समिति नै गठन गरेर थप अनुसन्धान गर्नुपर्ने प्रकृतिका रहेको जानकारी दिए।

समितिका अनुसार १३ जना प्रस्तावित राजदूतविरुद्ध परेका ७ उजुरीमध्ये २ वटा उजुरी सबै प्रस्तावित राजदूतहरूलाई समेटेर सामूहिक रूपमा दर्ता भएका छन्। बाँकी ५ वटा उजुरी भने विभिन्न व्यक्तिहरूलाई लक्षित गरी छुट्टाछुट्टै दर्ता गरिएका छन्।

संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूले उठाएका विषय, प्रस्तावित राजदूतहरूको योग्यता, कार्ययोजना, अनुभव तथा पृष्ठभूमिको विस्तृत परीक्षण गर्ने जनाएको छ। उक्त प्रक्रिया पूरा भएपछि मात्रै राजदूत नियुक्तिसम्बन्धी अन्तिम निर्णय गरिने समितिले जनाएको छ।