काठमाडौं-पछिल्लो १२ घण्टामा कास्कीको मालेपाटनमा सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ः३८ बजेसम्म मालेपाटनमा ३४.४ मिलिमिटर वर्षा मापन भएको हो।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेससहित कोसी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग तथा बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
राति कोसी प्रदेशका सबै स्थान तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बिहानीपख तराई क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै तथा कोसी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। तराईका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया