अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय सदस्यमा पत्रकार विश्वराज तामाङको उम्मेदवारी

कांग्रेस केन्द्रीय सदस्यमा पत्रकार विश्वराज तामाङको उम्मेदवारी


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य पदमा पत्रकार तथा युवा नेता विश्वराज तामाङले उम्मेदवारी दिएका छन्।

तामाङले पार्टीको ३५ वर्षमुनिको युवा कोटाअन्तर्गत कोशी प्रदेश भूगोलबाट खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। उनले ‘राष्ट्रव्यापी सम्मान, परिवर्तनको संकल्प र समृद्ध नेपालको लागि’ भन्ने नारासहित उम्मेदवारी दिएका छन्।

पत्रकारितासँगै सञ्चार उद्यम, पत्रकार संगठन तथा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय तामाङले महाधिवेशन प्रतिनिधिबाट अमूल्य मतको अपेक्षा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता सम्पन्न भएसँगै उनको उम्मेदवारी निर्वाचन प्रक्रियामा प्रवेश गरेको हो।

तामाङले पत्रकारिता यात्रा २०६२ सालमा ‘माझखर्क साप्ताहिक’बाट सुरु गरेका थिए। त्यसपछि २०६७ सालदेखि ‘त्रियुगा टाइम्स साप्ताहिक’को प्रकाशनमा संलग्न हुँदै त्रियुगा मिडिया ग्रुपमार्फत सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

त्रियुगा मिडिया ग्रुपअन्तर्गत त्रियुगा एक्सप्रेस दैनिक, उपहार एफएम ९५.४ तथा उपहार न्यूजलगायत सञ्चारमाध्यम सञ्चालन गर्दै आएका तामाङ हाल उपहार मिडिया एजेन्सी प्रालिद्वारा सञ्चालित उपहार न्यूज डटकमका सञ्चालक तथा सम्पादकका रूपमा कार्यरत छन्।

पत्रकार संगठनमा समेत सक्रिय तामाङ हाल नेपाल पत्रकार महासंघ उदयपुर शाखाका उपाध्यक्ष तथा नेपाल प्रेस युनियन उदयपुरका अध्यक्ष हुन्। २०८३ भदौ १२ गते सम्पन्न प्रेस युनियन उदयपुरको सातौँ जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका थिए।

त्यस्तै, तामाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष हुन्। फोनिजको आठौँ महाधिवेशनबाट उनी खुलातर्फ केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका थिए। यसअघि उनी फोनिजको केन्द्रीय सदस्यसमेत रहेका थिए।

तामाङ पत्रकार संघमा पनि उनले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। संघको केन्द्रीय सदस्य तथा पदाधिकारीका रूपमा काम गरेका उनी २०७८ सालको छैटौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष निर्वाचित भएका थिए। उदयपुरमा तामाङ सञ्चार समूह/तामाङ पत्रकार संघको तदर्थ समिति गठन हुँदा उनी संयोजकसमेत रहेका थिए।

पत्रकारितासँगै तामाङ नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन्। नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनले कांग्रेसका विभिन्न संगठनात्मक गतिविधिमा भूमिका निर्वाह गर्दै आएका छन्। कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका उनी पछिल्लो महाधिवेशन प्रक्रियामा उदयपुर क्षेत्र नं. १ बाट ३५ वर्षमुनिको युवा समूहमा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए।

सोही राजनीतिक आधार र संगठनात्मक सक्रियतालाई निरन्तरता दिँदै उनले यसपटक कांग्रेसको १५औँ महाधिवेशनमा युवा कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। उनी नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागका सदस्यसमेत हुन्।

पत्रकारिता, सञ्चार उद्यम, पत्रकार संगठन, आदिवासी जनजाति पत्रकारको संगठन तथा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका तामाङले यसपटक केन्द्रीय नेतृत्वमा युवा प्रतिनिधित्वका लागि उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीलाई पत्रकारिता र राजनीतिक संगठन दुवै क्षेत्रमा सक्रिय युवाको कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेशको प्रयासका रूपमा हेरिएको छ।