अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सातै प्रदेशका मुख्यमन्त्रीले जारी गरे ‘कोशी घोषणा-२०८३’

सातै प्रदेशका मुख्यमन्त्रीले जारी गरे ‘कोशी घोषणा-२०८३’


विराटनगर-सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेश प्रहरी प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी अधिकार कार्यान्वयन गर्न आवश्यक संरचना र जनशक्ति हस्तान्तरण गर्न सङ्घीय सरकारसँग माग गरेका छन्।

कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहमतिमा ‘कोशी घोषणा-२०८३’ जारी गर्दै यस्तो माग गरेको हो। घोषणापत्रमा सङ्घीयता कार्यान्वयन, अन्तरप्रदेशीय सहकार्य, वित्तीय सङ्घीयता र साझा विकासलाई प्राथमिकता दिइएको छ।

घोषणापत्रमा प्रशासनिक दोहोरोपना अन्त्य गर्न प्रदेशको कार्य जिम्मेवारीसँग सम्बन्धित सङ्घीय कार्यालय, भवन तथा सम्पत्ति प्रदेश वा स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। त्यसैगरी, वित्तीय समानीकरण अनुदान कटौती नगरी पूर्ण रूपमा हस्तान्तरण गर्न र प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको न्यायोचित बाँडफाँट गर्न पनि सङ्घीय सरकारको ध्यानाकर्षण गराइएको छ।

अन्तरप्रदेशीय पूर्वाधार र पर्यटनमा सहकार्य

प्रदेशहरूबीच साझा विकास र समृद्धिका लागि अन्तरप्रदेशीय सडक, कृषि करिडोर, पर्यटन परिपथ तथा हवाई सम्पर्क विस्तार गर्ने सहमति सम्मेलनले गरेको छ। जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापन र प्राकृतिक स्रोतको समन्यायिक उपयोगका लागि संयुक्त पहल गर्ने निर्णयसमेत गरिएको छ।

साझा सरोकारका विषयमा निरन्तर समन्वय र सहकार्य कायम राख्न सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी ‘अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मञ्च’ गठन गर्ने घोषणा गरिएको छ।

सातै प्रदेशका प्रतिनिधिको हस्ताक्षर

‘कोशी घोषणा-२०८३’ मा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेस प्रदेशका कृष्णप्रसाद यादव, बागमती प्रदेशका किरण थापा मगर, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका मङ्गलबहादुर शाही र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव उत्तरकुमार खत्रीले हस्ताक्षर गरेका छन्।

घोषणापत्रले संविधानको मर्मअनुरूप स्थानीय स्वायत्तताको सम्मान गर्दै सुशासन, पारदर्शिता र नागरिक केन्द्रित सेवा प्रवाहलाई सुदृढ बनाउने साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ।