काठमाडौँ-नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन सुरु हुने जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग भएर काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर निर्धारण गरिएको छ।
आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी टोल शुल्क तोकेको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर-ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ।
मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधन र भारी उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।
सवारीसाधनअनुसार टोल शुल्क
| सवारीसाधनको वर्ग | काठमाडौँ प्रवेश | काठमाडौँबाट प्रस्थान |
|---|---|---|
| वर्ग १: कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारी | रु. ६५ | रु. ६० |
| वर्ग २: मिनी बस, मिनी टिपर–ट्रक | रु. ११५ | रु. ८० |
| वर्ग ३: बस, सिंगल रियर एक्सल ट्रक | रु. २६० | रु. २०० |
| वर्ग ४: मल्टी एक्सल ट्रक, भारी सवारीसाधन तथा उपकरण | रु. ६०० | रु. २५० |
कात्तिक १५ गतेदेखि लागू हुने यो व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले आफ्नो सवारीसाधनको वर्गअनुसार तोकिएको शुल्क तिरेर आवतजावत गर्नुपर्नेछ।




प्रतिक्रिया