अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाचार कक्षबाट पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा

समाचार कक्षबाट पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा


काठमाडौं-समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे तीन घण्टापछि रिहा भएका छन्।

प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बारेमा समाचार प्रकाशित गरेको विषयलाई लिएर प्रहरीले शुक्रबार साँझ सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरेर साइबर ब्यूरोमा लगेको थियो ।

प्रहरीले सुवेदीलाई साइबर ब्यूरोमा लगेर प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिएको थियो। तर उनले पत्रकारिताको व्यावसायिक मर्यादा र स्रोत संरक्षणको सिद्धान्तअनुसार समाचारको स्रोत खोल्न अस्वीकार गरेका थिए।

यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाउँदै समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन्।

दाहालले यस्तो कार्यलाई ‘राज्य आतंक’ को संज्ञा दिँदै तत्काल रोक्न आग्रह गरेका छन्। यस्ता गतिविधि नरोकिए विरोधमा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ।