काठमाडौं-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समाचार लेखेकै आधारमा पत्रकारलाई सञ्चारगृहबाटै पक्राउ गर्ने र अन्य पत्रकारको खोजी गर्ने प्रहरीको कार्यप्रति आपत्ति जनाएको छ। पार्टीले यस्तो कार्य विधिको शासन र लोकतान्त्रिक आचरणविपरीत भएको बताएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै रास्वपाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई समाचार लेखेकै आधारमा कार्यालयमै पुगेर नियन्त्रणमा लिइएको तथा अन्य पत्रकारको खोजी भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रकाशित समाचारप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न भए त्यसको निरूपणका लागि स्थापित कानुनी, न्यायिक तथा संस्थागत प्रक्रिया अवलम्बन गर्नुपर्ने पार्टीको भनाइ छ। सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त निकाय हुँदाहुँदै ती प्रक्रिया छलेर पत्रकारमाथि धरपकड गर्नु न्यायोचित हुन नसक्ने रास्वपाले स्पष्ट पारेको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि स्वीकार्य हुन नसक्ने उल्लेख छ।
रास्वपाले प्रेस स्वतन्त्रतामाथिको कुनै पनि प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको जनाएको छ। समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु पत्रकारको व्यावसायिक अधिकार, दायित्व र पेसागत धर्मसमेत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले पत्रकारलाई नियन्त्रणमा लिइएको र अन्य पत्रकारको खोजी भइरहेको घटनाको निष्पक्ष तथा पारदर्शी छानबिन गरी तत्काल सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेको छ।
कुनै पनि भय, त्रास र अनुचित दबाबमा नपरी सत्य, तथ्य र निष्ठाको पत्रकारिता जारी राख्न सञ्चारकर्मीलाई आह्वान गर्दै रास्वपाले सम्पूर्ण सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको छ।
सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा आफ्नो अडान सम्झौताहीन रहने पनि पार्टीले जनाएको छ।




प्रतिक्रिया