काठमाडौं-समाचार कक्षबाटै पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन्।
मन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।
मन्त्री तिमल्सिनाले फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’
शुक्रबार प्रहरीले पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो। त्यस्तै, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसैगरी, नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी पुगेको थियो। नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधान सम्पादक मातृका पौडेललाई समाचारको स्रोतबारे सोधपुछ गर्न भन्दै बोलाइएको थियो।
समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति पत्रकार महासंघ, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी तथा नागरिक तहबाट व्यापक विरोध भएको थियो। घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले पक्राउ परेका सबै पत्रकारलाई रिहा गर्न निर्देशन दिएका थिए।
चौतर्फी दबाब र विरोधपछि पक्राउ परेका सबै पत्रकार रिहा भएका हुन्।



प्रतिक्रिया