काठमाडौं-नेपाल प्रेसको समाचार कक्षबाट पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन्। रिहाइपछि प्रतिक्रिया दिँदै पत्रकार सुवेदीले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यलाई अपरिपक्व र खेदजनक बताएका छन्।
सुवेदीले समाचारको विषयलाई लिएर समाचार कक्षमै प्रवेश गरी आफूसँग सोधपुछ गर्दै नियन्त्रणमा लिइएको घटनाले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताए।
आफूले सधैँ प्रहरी प्रशासनमाथि विश्वास र सम्मान राख्दै पत्रकारिताको जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले पछिल्लो घटनाले निकै दुःखी बनाएको प्रतिक्रिया दिए।
‘मैले सधैँ प्रहरी प्रशासनमाथि विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गरेँ। प्रहरी प्रशासनप्रति मेरो उच्च सम्मान थियो। तर आज समाचार कक्षमै पसेर समाचारको विषयलाई लिएर जसरी मसँग सोधपुछ गरियो र नियन्त्रणमा लिइयो, त्यसले मलाई साह्रै चित्त दुखेको छ। यसले प्रहरीप्रतिको मेरो पुरानो विश्वासमा धक्का पुगेको छ,’ उनले भने।
सुवेदीले समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कार्य प्रहरीको अपरिपक्वता भएको टिप्पणी गरे। सरकारको निर्देशन र आदेशविना यसरी पत्रकारलाई पक्राउ गर्न नमिल्ने उनको भनाइ थियो।
‘समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने कुरा अपरिपक्वता हो। यो खेदजनक छ,’ उनले भने, ‘सरकारको निर्देशन र आदेशविना कसरी पक्राउ गर्न मिल्छ र?’
माथिल्लो निकायबाट आदेश आएको भन्दैमा प्रहरीले अपरिपक्व ढंगले काम गर्न नहुने उल्लेख गर्दै उनले यस्तो गतिविधिले प्रहरी संगठनकै छविमा असर पुग्ने बताए।
‘प्रहरीले माथिको आदेश आयो भन्दैमा अपरिपक्व काम गरेर प्रहरी संगठनलाई कमजोर बनाइनु हुँदैन,’ सुवेदीले भने।
प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिँदै प्रहरीले उनलाई शुक्रबार समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसपीले चिया खान बोलाएको भन्दै आफूलाई लगिएको सुवेदीले बताएका छन्। केहीबेरपछि ब्यूरोले उनलाई रिहा गरेको हो।
यस घटनाप्रति ऐक्यबद्धता जनाउँदै साथ र समर्थन व्यक्त गर्ने सम्पूर्ण पत्रकार, साथीभाइ तथा शुभचिन्तकप्रति सुवेदीले आभारसमेत व्यक्त गरेका छन्।



प्रतिक्रिया