काठमाडौं-विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनापछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बैठक बस्न लागेको हो।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति तथा सङ्गठनात्मक सुदृढीकरणका विषयमा छलफल हुनेछ।
समसामयिक विषयमा छलफल गर्ने भन्दै शुक्रबार राति पार्टीका नेताहरूलाई शनिबारको सचिवालय बैठकमा सहभागी हुन सन्देश पठाइएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।
यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुनविद् रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए।
शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरी नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएका थिए। यस्तै, पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन प्रहरी नयाँ पत्रिकाको कार्यालयमा समेत पुगेको थियो। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग करिब अढाई घण्टा छलफल तथा विवाद गरेको थियो।
समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको उक्त कदमको विभिन्न राजनीतिक दल, नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाललगायतले विरोध जनाएका छन्। घटनाको चौतर्फी आलोचना भएपछि सरकार र सत्तारूढ रास्वपा दुवैले पत्रकार पक्राउका विषयमा आफूहरूलाई जानकारी नभएको भन्दै छुट्टाछुट्टै वक्तव्य जारी गरेका थिए।
पत्रकार पक्राउ प्रकरणपछि बोलाइएको रास्वपा सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ।



प्रतिक्रिया