काठमाडौं-सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरी गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीले तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी तथा विभिन्न चिस्यान केन्द्रका प्रमुख र कर्मचारीको मिलेमतोमा संस्थानलाई आर्थिक हानि पुर्याइएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार प्रारम्भिक अनुसन्धानबाट पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह गठन गरी सङ्गठित सञ्जालमार्फत संस्थानलाई प्रत्यक्ष आर्थिक क्षति पुर्याएको खुलेको छ। उक्त गतिविधिबाट १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा रहेका छन्। त्यस्तै, तत्कालीन चिस्यान केन्द्रका इन्चार्ज तथा हाल विभिन्न पदमा कार्यरत विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय पनि पक्राउ परेका छन्।
यसैगरी धुलो दूध कारखाना हेटौँडामा कार्यरत जितेन्द्रकुमार यादव, नवलपुर चिस्यान केन्द्रका नवीन राय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय र माडी चिस्यान केन्द्रका प्रमुख विखबहादुर भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सीआईबीका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
झा यसअघि पनि २०८० सालमा पक्राउ परेका थिए। त्यसबेला डीडीसीमा दूध बिक्रीबाट प्राप्त करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप उनीमाथि लागेको थियो।
झा २०७८ चैत १४ गते डीडीसीको महाप्रबन्धक नियुक्त भएका थिए। उनको कार्यकालदेखि नै संस्थानमा आर्थिक अनियमितताको आरोप लाग्दै आएको थियो।
पक्राउ परेकाहरू
- जिल्ला सर्लाही बलरा नगरपालिका वडा नं. ३ स्थायी वतन भई जिल्ला काठमाडौं कागेश्वरी मनहरा न.पा. वडा नं. ६ बस्ने बर्ष ४५ को संजिव झा, तत्कालीन महाप्रबन्धक तथा हाल दुग्ध विकास संस्थान लैनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको रुपमा कार्यरत, पक्राउ स्थान: कामनपा वडा नं. २६ लैनचौर, काठमाडौं ।
- जिल्ला सिराहा सिराहा न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाडौं तार्केश्वर न.पा. वडा नं. ०४ बस्ने बर्ष ४६ को बिजय कुमार यादव, तत्कालिन सिम्ले चिस्यान केन्द्र ईञ्चार्ज हाल काठमाडौं दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत, पक्राउ स्थान: कामनपा वडा नं. १६ बालाजु, काठमाडौं ।
- जिल्ला पर्वत मोदी गाउँ पालिका वडा नं. ४ स्थायी वतन भई हाल जिल्ला काठमाडौं तार्केश्वर न.पा. वडा नं. ०६ बस्ने वर्ष ५५ को मनहरी शर्मा, तत्कालिन भक्तपुर चिस्यान केन्द्रको ईञ्चार्ज हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट को रूपमा कार्यरत, पक्राउ स्थान: पोखरा मनपा वडा नं. १४, कास्की ।
- जिल्ला सर्लाही मोहनपुर गा.वि.स. वडा नं. ०५ स्थायी वतन भई हाल जिल्ला चितवन भ.म.न.पा. वडा नं. ०५ कल्याणपुर बस्ने बर्ष ४९ को रामकेवल राय, तत्कालीन चनौलि चिस्यान केन्द्र ईञ्चार्ज हाल काठमाडौं दुग्ध वितरण आयोजना संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टको रूपमा कार्यरत, पक्राउ स्थान: चन्द्रनगर गाउपालिका वडा नं ५ मोहनपुर, सर्लाही ।
- जिल्ला सर्लाही चन्द्रनगर गाउँ पालिका वडा नं. ०५ घर भई हाल जिल्ला चितवन भ.म.न.पा.वडा नं.०५ कल्याणपुर बस्ने बर्ष २८ को जितेन्द्र कुमार यादव, भरपाई पदका कर्मचारी, बागमती धुलो दुध कारखाना, हेटौडामा कार्यरत, पक्राउ स्थान: भरतपुर नपा वडा नं. ५ आनन्दपुर, चितवन ।
- जिल्ला सर्लाही चन्द्र नगर गाउँ पालिका वडा नं. ०२ घर भई बस्ने बर्ष ३२ को नविन राय यादव, डेरी ब्वाई पदका कर्मचारी, नवलपुर/गरुडा चिस्यान केन्द्र ईन्चार्ज, पक्राउ स्थानः लालबन्दी नपा वडा नं. ५ मेजरगञ्ज, सर्लाही ।
- जिल्ला सर्लाही चन्द्र नगर गाउँ पालिका वडा नं. ०५ घर भई हाल जिल्ला चितवन माडी न.पा. वडा नं. ०२ बस्ने वर्ष ४६ को शिव नन्दन राय, दैनिक पारिश्रमिक पदका कर्मचारी, माडी चिस्यान केन्द्रमा कार्यरत, पक्राउ स्थान: माडी नपा वडा नं. १ भरुवा, चितवन ।
- जिल्ला सिन्धुपाल्चोक कालिका गा.पा. वडा नं.७ बस्ने बर्ष ४८ को विख बहादुर भण्डारी, जुनियर टेक्निकल असिस्टेन्ट, चिस्यान केन्द्र ईन्चार्ज माडि चितवन, पक्राउ स्थान: माडि नपा वडा नं. १, चितवन ।



प्रतिक्रिया