काठमाडौं-नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई पक्राउ गरेको घटनाप्रति घोर आपत्ति जनाएको छ। महासंघले उक्त कार्यलाई प्रेस स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप र राज्य आतंकको संज्ञा दिँदै कडा भर्त्सना गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्यूजबाट शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई गैरकानुनी रूपमा पक्राउ गरिएको जनाएका छन्।
त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई पनि कार्यालयबाटै पक्राउ गर्ने प्रयास भएको भन्दै महासंघले निन्दा र खेद व्यक्त गरेको छ। मैनालीलाई पक्राउ गर्न आएको प्रहरी साँझ ५ बजेदेखि ७ बजेसम्म कार्यालयमा बसे पनि महासंघका महासचिव दाहालसहितको दबाबपछि पछि हटेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेका पत्रकारलाई शुक्रबार साँझ नै रिहा गरिएको पनि महासंघले जनाएको छ।
यसैगरी, दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई समेत पक्राउ गर्न प्रहरीले निगरानी गरिरहेको जानकारी प्राप्त भएको महासंघले जनाएको छ।
समाचारको विषयमा कुनै समस्या भए कानुनी तथा विधिसम्मत प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा त्यसो नगरी सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्नु शोभनीय नभएको महासंघको ठहर छ। यस्तो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान र प्रचलित कानुनविपरीत रहेको महासंघले जनाएको छ।
महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा प्रहरीले स्वेच्छाचारी कदम चालेको आरोप लगाउँदै त्यसको कडा भर्त्सना गरेको छ।
साथै, महासंघले आमपत्रकारलाई अविचलित रूपमा प्रेस स्वतन्त्रताको अभ्यास गर्न र राज्यको यस्तो कार्यविरुद्ध खबरदारी गर्न आह्वान गरेको छ। पत्रकारमाथिको धरपकड नरोकिए सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत महासंघले दिएको छ।




प्रतिक्रिया