काठमाडौं-त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकार गिरफ्तारी प्रकरणमा सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जवाफदेही हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले पक्राउ परेका पत्रकारलाई रिहा गरेर मात्र घटनाको जिम्मेवारी पूरा नहुने बताएका हुन्। उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पत्रकार गिरफ्तारीको योजनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न माग गरेका छन्।
प्रधानमन्त्री बालेन पत्रकार गिरफ्तारीप्रति असन्तुष्ट रहेको भन्ने चर्चाप्रति टिप्पणी गर्दै अर्यालले सरकार र रास्वपा घटनाबाट पन्छिन नमिल्ने बताएका छन्। सरकारी संयन्त्रमाथि सत्तारूढ दल र सरकारको नियन्त्रण गुमेको हो कि भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
प्रधानमन्त्रीका कनिष्ठ सल्लाहकार, रास्वपाका पूर्वमन्त्री तथा पूर्वपत्रकार नेताहरूले सामाजिक सञ्जालमा दिएका अभिव्यक्तिपछि पनि आफ्नो आशङ्का नहटेको अर्यालको भनाइ छ।
उनले देशमा भिजिलान्तेहरू सक्रिय हुन थालेका हुन् कि भन्ने प्रश्न गर्दै पत्रकार गिरफ्तारीको घटनालाई सामान्य रूपमा लिन नहुने बताएका छन्।
‘यो के नाटक हो !? सरकार र रास्वपा पानीमाथि ओभानो हुन पाउँदैन,’ अर्यालले लेखेका छन्।
अर्यालकाे भनाइ जस्ताकाे तस्तै
प्रधानमन्त्री वालेन पत्रकार गिरफ्तारीप्रति असन्तुष्ट रे!? पक्राउ परेका पत्रकारलाई रिहा गरेर मात्र पुग्दैन, घटनाको सत्य तथ्य सार्वजनिक हुनु पर्छ। योजनाकारहरुलाई कार्वाही पनि गरिनु पर्दछ । यो के नाटक हो !? सरकार र रास्वपा पानीमाथि ओभानो हुन पाउॅदैन । के सत्ताधारी दल र उसको सरकारले सरकारी सयन्त्रमाथिको नियन्त्रण गुमाएको हो? प्रधानमन्त्रीको कनिष्ठ सल्लाहकार, रास्वपाका पूर्व मन्त्री, हाम्रा भूतपूर्व पत्रकार नेताजीको पोस्टपछि पनि मन शान्त हुन सकेको छैन ! के अब देशमा भिजिलान्तेहरू घुम्न थालेका हुन् ?



प्रतिक्रिया