अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते


बझाङ-बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

केदारस्युँ गाउँपालिका-७ स्थित भामचौर डाँडाइजरको सुडेधार खोलामा बुधबार बिहान करिब पौने ९ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री तथा ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

काँडाचौरका स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो। जिपमा १५ जना सवार रहेको र ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि प्रहरीले जिप चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामीलाई नियन्त्रणमा लिएको छ।