काठमाडौँ-सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ। मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई आवश्यक सुरक्षा परामर्श र सल्लाह उपलब्ध गराउने उद्देश्यले विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरिएको जानकारी दिए।
उनका अनुसार प्रहरी महानिरीक्षक स्तरको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्रीको कार्यालयमा सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारीमा खटाउने निर्णय भएको हो।
कार्कीलाई नयाँ जिम्मेवारी दिइएको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रवक्ता पोखरेलले यसलाई कारबाही नभई जिम्मेवारी हेरफेरका रूपमा बुझ्नुपर्ने बताए।
सरकारको निर्णयसँगै कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा रहनेछन् भने डा. मनोज केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन्।



प्रतिक्रिया