अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको राष्ट्रिय भेला हुन तीन दिन बाँकी, ३ हजार १६४ प्रतिनिधि सहभागी हुँदै

एमालेको राष्ट्रिय भेला हुन तीन दिन बाँकी, ३ हजार १६४ प्रतिनिधि सहभागी हुँदै


काठमाडौं-नेकपा (एमाले)ले पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक अवस्था र भावी रणनीतिबारे छलफल गर्न आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा गरेको जनाएको छ। आगमी मंसिर २ र ३ गते काठमाडौंमा हुने भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधि सहभागी हुँदैछन्।

पार्टीको केन्द्रीय नेतृत्वदेखि जिल्ला र पालिका तहसम्मका प्रतिनिधिहरूको सहभागिता रहने भेलालाई एमालेले संगठनात्मक सुदृढीकरण, राजनीतिक समीक्षा र आगामी कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ। भेला सुरु हुन तीन दिन बाँकी रहँदा पार्टीले आवश्यक तयारी पूरा गरी प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरेको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना हुने भेलामा ३ हजार १६४ जना प्रतिनिधि सहभागी हुनेछन्।

भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन एमालेले भेलामा सहभागी हुने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।

एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

राष्ट्रिय भेला सकिएलगत्तै एमालेका थप दुई महत्त्वपूर्ण कार्यक्रम

राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएलगत्तै नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने भएको छ।

पार्टीले तय गरेको कार्यतालिकाअनुसार मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला हुनेछ भने मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिनेछ। बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने उक्त भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।

त्यसैगरी, मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।

लगातार तीन दिन आयोजना हुने यी कार्यक्रममार्फत पार्टीका केन्द्रीय तथा विभिन्न तहका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूबीच छलफल, अन्तरक्रिया तथा समसामयिक राजनीतिक र सांगठनिक विषयमा विचार आदानप्रदान हुने एमालेले जनाएको छ।