काठमाडौं-काठमाडौंबाट चोरीको मोटरसाइकल प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सुरक्षा जाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ का २१ वर्षीय तेन्जिङ लामा, जुगल गाउँपालिका-३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही ठाउँका २८ वर्षीय समीर तामाङ (दशलाल) रहेका छन्।
प्रहरीका अनुसार बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार लामा र शेर्पालाई जाँच गर्ने क्रममा शंका लागेपछि सोधपुछ गरिएको थियो। सोधपुछका क्रममा उक्त मोटरसाइकल चोरीको भएको र समीर तामाङले बिक्री गरेको खुलेपछि उनलाई सुन्दरीजलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट बा ८४ प ५४८४ नम्बरको एनएस-२०० मोटरसाइकल र बा.प्र.०२–०३० प ८४७५ नम्बरको एनटीओआरक्यू स्कुटर बरामद गरेको छ।
त्यस्तै, दुईवटा नम्बर प्लेट, एउटा सवारी दर्ता किताब, एउटा टुल बक्स, एउटा टुलकिट र चारवटा मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया