स्याङ्जा-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। महामन्त्री पौडेलले नेपाली कांग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि कसैले हस्तक्षेप गर्न नसक्ने बताए।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको पक्षमा आवाज उठाउने कांग्रेसलाई कमजोर बनाउने र पार्टीको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए। निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने भन्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्न सरकारलाई आग्रह गरे।
कांग्रेसलाई कमजोर बनाएर देशको लोकतन्त्र नै कमजोर बनाउने प्रयास भइरहेको उनको भनाइ थियो। मुद्दा हाल्दैमा दुई जना सभापति नहुने स्पष्ट पार्दै पौडेलले सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने बताए। राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने उनको भनाइ थियो।
वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितका समस्या र सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताए। सरकारप्रति नागरिकको विश्वास घट्दै गएको उनको दाबी थियो।
निर्वाचनमा कांग्रेस पराजित भए पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली कांग्रेसलाई राजनीतिको विश्वविद्यालयको संज्ञा दिए। उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सबै राजनीतिक दल उस्तै हुन् भन्ने भाष्य निर्माण भइरहेको भन्दै कांग्रेस अन्य दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए। कांग्रेसले आफ्नो इतिहास, विचार र योगदान जनतामाझ स्पष्ट रूपमा प्रस्तुत गर्न सके पार्टी पुनः आफ्नो गौरवशाली इतिहासमा फर्किने उनको भनाइ थियो।



प्रतिक्रिया