अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘थुन्दिन्छु’ भन्दै धम्की दिने ? एमाले कसैको आतंकबाट डराउँदैन: अध्यक्ष ओली

‘थुन्दिन्छु’ भन्दै धम्की दिने ? एमाले कसैको आतंकबाट डराउँदैन: अध्यक्ष ओली

‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे, मजाकको पात्र हौँ हामी ?’


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको आरोप लगाएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) र गृहमन्त्रीका अभिव्यक्ति गैरजिम्मेवार र त्रास फैलाउने खालका भएको भन्दै उनले आपत्ति जनाएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आईजीपीले आफू, देउवा र प्रचण्डलाई थुन्दिने अभिव्यक्ति दिएको सुनेको भन्दै राजनीतिक नेतृत्वलाई हलुका रूपमा नलिन चेतावनी दिए।

‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म। आईजीपीको बोलाइ त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु। केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् यिनका ? थुन्दिन्छु रे ?’ अध्यक्ष ओलीले भने।

राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको राजनीतिक नेतृत्वलाई सामान्य रूपमा नलिन अध्यक्ष ओलीले चेतावनी दिए। आफूहरू देश र जनताका लागि लामो समय संघर्ष गरेको भन्दै उनले पक्राउ गर्ने धम्की दिएर मनोवैज्ञानिक आतंक सिर्जना नगर्न आग्रह गरे।

‘हामी राणाशासनका विरुद्ध लडेर आएका हौँ, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौँ, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौँ। अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु, ठट्टा मजाक गर्‍या हो ? तिनी जन्मिनभन्दा अगाडिदेखि हामी देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडिराखेका छौँ,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले अपराध गरेको प्रमाण भेटिए जोसुकैलाई कानुनी कारबाही गर्न आफूहरूको विरोध नरहेको स्पष्ट पारे। तर, प्रमाणबिनै पक्राउ गर्ने धम्की दिएर आतंक फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

गृहमन्त्री सुदन गुरुङले फाइल खोल्ने र १०१ जनालाई पक्राउ गर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै ओलीले सबैलाई पक्राउ गर्ने हो भने गृहमन्त्री स्वयं कहाँ पर्ने भन्दै प्रश्न गरे।

‘प्रमाण भेटे त उनी पनि थुनिन्छन् होला नि, गलत काम गरेका प्रमाण भेटे। अरू पनि त थुनिन्छन् होला नि। गृहमन्त्रीको देखिन्छ, फाइल खोल्दै छु, पर्खिनुस् सब थुनिन्छन्, १०१ थुनिन्छन्। कसलाई भन्या हो? अब सबै थुनिन्छन् भने उनी र को बाँच्छन् त नेपालमा?’ उनले प्रश्न गरे।

अध्यक्ष ओलीले एमाले कुनै पनि प्रकारको आतंक र धम्कीबाट नडराउने दाबी गरे। गृहमन्त्रीविरुद्ध समेत विभिन्न प्रमाण रहेको उल्लेख गर्दै उनले कानुनी प्रक्रिया सबैका लागि समान हुनुपर्ने धारणा राखे।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गर्दै ओलीले चुनाव लड्नका लागि उम्मेदवारहरूको क्लब बनाएर मात्रै पार्टी बलियो नहुने टिप्पणी गरे। विभिन्न ठाउँबाट प्रभावशाली उम्मेदवार खोज्दै हिँड्दैमा संगठन निर्माण नहुने भन्दै उनले एमाले बलियो संगठनका साथ स्थानीय तहको निर्वाचनमा जाने बताए।

स्थानीय निर्वाचन सम्पन्न नभएसम्म आराम नगरी उच्च सक्रियता, क्रियाशीलता र मेहनतका साथ अभियानमा जुट्न ओलीले नेता तथा कार्यकर्तालाई निर्देशन दिए। विगतमा विभिन्न शक्तिको घेराबन्दी र असंवैधानिक कदमबाट एमाले सरकारबाट हटाइएको भए पनि पार्टी पुनः सत्तामा फर्किने उनले दाबी गरे।

एमाले जनताको विश्वास र संघर्षबाट स्थापित भएको भन्दै ओलीले पार्टी कसैको दया, माया वा आशीर्वादले अघि नबढेको बताए। सामाजिक सञ्जालमा एमालेको राजनीतिक भविष्यबारे भइरहेका टिप्पणीप्रति कटाक्ष गर्दै उनले एमाले फेरि सरकारमा पुग्ने दाबी गरे।

‘केही दिन फेसबुकमा आलोचना लेख्दै गर, हेर्दाहेर्दै एमाले फेरि सरकारमा पुग्नेछ। हामी जस्केला, झ्याल वा भेन्टिलेटरबाट होइन, मूल ढोकाबाटै सिंहदरबार पस्नेछौँ र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेछौँ,’ अध्यक्ष ओलीले भने।