अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाले चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गर्‍यो

रास्वपाले चीनको सिचुवानसँग पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गर्‍यो


चेङ्दु-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनको सिचुवान प्रान्तसँग सीमापार यातायात, विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा, पर्यटन-व्यापार र डिजिटल नवप्रवर्तनका पाँच क्षेत्रमा सहकार्य प्रस्ताव गरेको छ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको चेङ्दुमा सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईसँग भेटवार्ता गर्दै सहकार्यका प्राथमिकता प्रस्तुत गरेको हो।

मंसिर १ गते भएको भेटमा नेपाल र चीनबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई विकास, साझा समृद्धि र व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने विषयमा छलफल भएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

रास्वपाले पहिलो प्राथमिकताका रूपमा सुरक्षित र भरपर्दो सीमापार यातायात पूर्वाधार विकासलाई अघि सारेको छ। बाह्रै महिना सञ्चालन गर्न सकिने सडक, सुक्खा बन्दरगाहको विस्तार तथा स्तरोन्नति र आधुनिक भन्सार प्रणाली निर्माणमा सहकार्य गर्न प्रस्ताव गरिएको छ।

दोस्रो प्राथमिकतामा पर्वतीय विज्ञान, सूचना आदानप्रदान र विपद् उत्थानशीलतालाई राखिएको छ । नेपाल र सिचुवानको भौगोलिक तथा पर्वतीय वातावरण र विपद् जोखिममा समानता रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था तथा विज्ञबीच सहकार्य विस्तार गर्न सकिने रास्वपाको प्रस्ताव छ। मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना, सुरक्षित सडक निर्माण र विपद् पूर्वतयारीमा ज्ञान तथा सूचना आदानप्रदानलाई पनि जोड दिइएको छ।

स्वच्छ ऊर्जा र हरित उद्योग तेस्रो प्राथमिकताका रूपमा प्रस्ताव गरिएको छ । नेपालको जलविद्युत् सम्भावनालाई सिचुवानको ऊर्जा तथा औद्योगिक अनुभवसँग जोडेर लगानी र प्रविधि हस्तान्तरण विस्तार गर्न सकिने रास्वपाको धारणा छ । जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा साझेदारीको सम्भावनासमेत छलफलमा उठाइएको छ ।

चौथो प्राथमिकतामा हवाई सम्पर्क, पर्यटन र व्यापार प्रवर्द्धनलाई राखिएको छ । चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवातर्फ थप प्रत्यक्ष उडान सञ्चालनको सम्भावना खोज्न नेपाली पक्षले आग्रह गरेको छ । नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाको चीनतर्फ निर्यात बढाउन प्रशोधन, भण्डारण, गुणस्तर मापदण्ड तथा बजार पहुँचमा सहकार्य गर्न पनि प्रस्ताव गरिएको छ ।

युवा तथा डिजिटल नवप्रवर्तनलाई पाँचौँ प्राथमिकताका रूपमा अघि सारिएको छ । कृत्रिम बुद्धिमत्ता (एआई), सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम तथा हरित डेटा सेन्टरमा सहकार्य गर्न सकिने रास्वपाको प्रस्ताव छ । नेपालको प्रविधिमा रुचि राख्ने युवा र सिचुवानको अनुसन्धान तथा प्रविधि क्षमतालाई जोडेर नवप्रवर्तनका क्षेत्रमा साझेदारी विस्तार गर्न सकिने धारणा नेपाली पक्षले राखेको छ ।

भेटमा सिचुवानका प्रान्तीय सचिव वाङले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै प्रान्तको आर्थिक तथा सामाजिक विकासबारे जानकारी गराएका थिए । उनले नेपाल र चीन असल छिमेकी तथा साझेदार रहेको उल्लेख गर्दै बेल्ट एन्ड रोड सहकार्यलाई अघि बढाउन तथा दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयनमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वाङले स्थानीय तहमा पार्टीगत तथा सरकारी सम्बन्ध थप सुदृढ गर्दै नयाँ क्षेत्रमा रणनीतिक सहकार्य र साझेदारी विस्तार गर्ने अवसरका रूपमा प्रतिनिधिमण्डलको भ्रमणलाई लिएको बताएका थिए ।

रास्वपा महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासका उपलब्धिको प्रशंसा गर्दै नेपालको विकासमा चीनले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले सिचुवानलाई नेपालको विश्वासिलो तथा दीर्घकालीन साझेदारका रूपमा उल्लेख गर्दै पारस्परिक लाभका क्षेत्रमा सम्बन्ध विस्तार गर्न पार्टी तथा सरकार प्रतिबद्ध रहेको बताए ।

भेटवार्तामा भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीले दुवै देशमा पुर्‍याएको जनधनको क्षतिबारे पनि चर्चा भएको थियो । वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री वालेन्द्र शाहलाई समवेदना सन्देश पठाएको स्मरण गर्दै दुवै देशले विपद्का बेला सहकार्य गरेको घटनालाई परम्परागत मित्रताको उदाहरण बताए ।

आचार्यले विपद्मा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै चीनले नेपालका प्रभावित क्षेत्रमा तत्काल आपत्कालीन सहयोग उपलब्ध गराएकोमा आभार प्रकट गरेका थिए । उनले चीनको सहयोग र ऐक्यबद्धता नेपालले सधैँ स्मरण गर्ने बताए ।

रास्वपा प्रतिनिधिमण्डलले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति र दुवै देशको सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मानमा आधारित रहेको उल्लेख गरेको छ । प्रतिनिधिमण्डलले एक चीन नीति नेपालको दशकौँदेखिको स्थिर अडान भएको स्पष्ट पार्दै रास्वपा पार्टी तथा सरकारले उक्त नीतिलाई निरन्तरता दिने र नेपाली भूमि चीनको सार्वभौमसत्ता तथा सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको छ ।