धादिङ-पहराबाट खसिरहने दुई जलधाराको आवाजमा भजन र बाजाको धुन मिसिन्छ। परम्परागत भेषभूषामा सजिएका झाँक्री नाच्छन्। भक्तजन रातभर जाग्राम बस्छन् र उज्यालो भएपछि स्नान तथा पूजाआजामा जुट्छन्। गङ्गाजमुना मेलामा वर्षौँदेखि दोहोरिँदै आएको यो दृश्यमा प्रकृतिको सौन्दर्यसँगै मानिसका विश्वास, मनोकामना र सांस्कृतिक स्मृति भेटिन्छ।
उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका-५ फूलखर्कस्थित ढाँडखर्कको पहरा यसवर्ष पनि त्यही चहलपहलको प्रतिक्षाछ। यहाँ यही मङ्सिर ३ र ४ गते गङ्गाजमुना माई मेला आयोजना हुँदैछ। यसवर्ष हरिबोधिनी एकादशी मङ्सिर ४ गते परेको छ। एकादशीको अघिल्लो रात जाग्राम बस्ने र भोलिपल्ट बिहान स्नान तथा दर्शन गर्ने परम्पराले मेला दुई दिनलाई जोड्छ।
गङ्गाजमुना क्षेत्र विकास कोष र गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाका अनुसार मङ्सिर ३ गते बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ। वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। सांस्कृतिक झाँकी र कलाकारका प्रस्तुतिसँगै धार्मिक अनुष्ठान चल्ने मेलामा दर्शनार्थीले स्थानीय जीवन र परम्परा नजिकबाट बुझ्ने अवसर पनि पाउनेछन्।
गङ्गाजमुनाको पहरासँग दुई दिदीबहिनीको कथा गाँसिएको छ । स्थानीय समुदायमा प्रचलित किम्बदन्तीअनुसार गङ्गा र जमुना नामका दिदीबहिनी हराएपछि परिवारजन उनीहरूलाई खोज्दै पहराको गुफासम्म पुगे । गुफाभित्रबाट दिदीबहिनीले आफूहरू सुरक्षित रहेको जनाउँदै त्यहीँ पूजाआजा गर्न आग्रह गरे। उनीहरूकै सम्झनामा गङ्गाजमुना माईको पूजा र मेला सुरु भएको जनविश्वास छ।
पुस्तौँदेखि सुनाइँदै आएको यस कथाले झरनालाई मानिसको आस्थासँग जोडेको छ। पहरामा झर्ने पानीसँगै गङ्गा र जमुनाको सम्झना पनि स्थानीय जनजीवनमा बगिरहेजस्तो लाग्छ। झरनामा स्नान गर्ने, पहरामा रहेको मन्दिरमा महादेवको पूजा गर्ने, फूलको डोली चढाउने र बत्ती बाल्ने चलनमा त्यही परम्पराको निरन्तरता भेटिन्छ।
गाउँपालिकाको नाम यही धार्मिकस्थलबाट राखिएकाले गङ्गाजमुना स्थानीय भूगोल र सामूहिक पहिचानमा पनि जोडिएको छ। झरनानजिकैको ‘कुकुरधारा’मा स्नान गर्ने परम्परा पनि छ। त्यहाँ नुहाउँदा जनावरले टोकेको दोष निवारण हुने धार्मिक जनविश्वास रहिआएको छ। यस्ता विश्वासले यहाँका फरक जलधारा र पूजास्थललाई भक्तजनका आ-आफ्ना मनोकामनासँग जोडेका छन्।
जाग्रामको रात, संस्कृतिको लय
एकादशीको अघिल्लो रात गङ्गाजमुना परिसरमा धार्मिक अनुष्ठान र सांस्कृतिक प्रस्तुति सँगसँगै चल्छन्। भाकल बुझाउन आएका भक्तजनको जाग्राम, झाँक्रीको नाच र भजनको लयले मेलालाई विशिष्ट स्वरूप दिन्छ। बिहानको स्नान र दर्शनमा पुगेर रातभरको धार्मिक यात्राले पूर्णता पाउँछ। स्थानीय शिक्षक कृष्णबहादुर राना भन्छन्, ‘झाँक्री नाचको रौनक अझ छुट्टै हुन्छ।’ दर्शन तथा भाकल बुझाउन आउनेले आ-आफ्नो भेषभूषामा कला प्रस्तुत गर्ने गरेको उनी सुनाउँछन्। झाँक्रीको पहिरन, नृत्यको चाल र भजनमा समुदायको आफ्नै सांस्कृतिक स्मृति झल्किन्छ।
यसवर्ष गाउँपालिकाका विभिन्न वडाबाट तामाङ सेलो, लामा नाच, मारुनी, घाँटु, कौरा, चौँरी-घोडे, लाखे र टाकटुकेलगायत प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ । गायिका मनमाया वाइबा, शान्तारानी परियार र निर्जला गुरुङ तथा गायक सागर बिसी र सरोज सिम्खडालगायत कलाकारले पनि प्रस्तुति दिनेछन् । मौलिक नाच र समकालीन गीतसङ्गीतले फरक पुस्ताका रुचिलाई एउटै मेलामा समेट्नेछन् ।
उकालो बिर्साउने गन्तव्य
गङ्गाजमुना पुग्ने यात्रा दर्शनार्थीका लागि आ–आफ्नै अनुभूति लिएर आउँछ। धादिङसहित रसुवा, नुवाकोट, गोरखा, चितवन, तनहुँ, लमजुङ, कास्की र काठमाडौँलगायत जिल्लाबाट मानिस यहाँ आउने गरेका छन्। कोही भाकल बुझाउन आउँछन्, कोही दर्शन गर्न । कसैलाई भने झरनाको सौन्दर्य र मेलाको सांस्कृतिक वातावरणले तान्छ। हरेक वर्ष मेला अवलोकन गर्दै आएका स्थानीय दीपक अधिकारीका अनुसार उकालो यात्रामा देखिने पहाडी दृश्य र झरनाले मन प्रसन्न बनाउँछ। गन्तव्यमा पुगेपछि बाटोको कठिनाइ बिर्सिने अनुभव उनको छ।
यात्राको थकान र गन्तव्यमा पुग्दाको सन्तोषबीचको यही सम्बन्धले पनि गङ्गाजमुनाको आकर्षण बुझाउँछ। एकपटक आएका दर्शनार्थीले सकुन्जेल फेरि दर्शन गर्न आउने इच्छा व्यक्त गर्ने गरेको अधिकारी सुनाउँछन्। मनोकामना पूरा हुने विश्वासले पनि उनीहरूलाई मेलासम्म ल्याउने गरेको उनको भनाइ छ । यात्रुको मनमा बोकेका अपेक्षा फरक छन्, तर पुग्ने पहरा एउटै छ। झरनाको दृश्य, रातको सांस्कृतिक चहलपहल र बिहानको दर्शनले उनीहरूलाई फेरि फर्कन मन लाग्ने सम्झना दिन्छन्।
मेलादेखि वर्षभरको पर्यटनसम्म
गङ्गाजमुनाको पर्यटकीय सम्भावना झरना र मन्दिरसँगै वरपरका बस्ती, स्थानीय खानपान र सांस्कृतिक जीवनमा फैलिएको छ। आगन्तुकको बसाइ यी पक्षसँग जोडिनसके मेलाबाहिर पनि भ्रमणका अवसर विस्तार हुन सक्छन्। स्थानीय उत्पादन, परिकार र साना व्यवसायले त्यसबाट लाभ लिनसक्ने सम्भावना छ। गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताउँछन्। उपाध्यक्ष रामेश्वर सिंखडाले गङ्गाजमुना माई र मेलालाई पालिका तथा जिल्लाको साझा सम्पदाका रूपमा लिँदै संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार जुटिरहेको बताएका छन् । मेलाको अवसरमा गाउँपालिकाले यही मङ्सिर ३ र ४ गते सार्वजनिक बिदा दिएको छ।
यसवर्ष मेलाको तयारीमा सडक तथा पदमार्गको सहजता, सुरक्षित स्नानस्थल, खानेपानी, शौचालय र सरसफाइका विषय समेटिएका छन् । यी व्यवस्थाको प्रभावकारिता वृद्धवृद्धा, बालबालिका र अपाङ्गता भएका व्यक्तिको यात्रासँग पनि जोडिन्छ । धार्मिक स्थलसम्म पुग्न र त्यहाँ समय बिताउन सहज हुँदा आगन्तुकले यहाँको प्रकृति तथा संस्कृतिसँग थप नजिकिने अवसर पाउँछन् । पर्यटनको निरन्तरताका लागि झरना र धार्मिकस्थलको संरक्षणसँगै परम्परागत कला प्रस्तुत गर्ने समुदायको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । स्थानीयवासीले आफ्नो संस्कृति जोगाउँदै त्यसबाट आर्थिक अवसर पाउनसके मेलासँग जोडिएको उत्साह वर्षभरिका गतिविधिमा विस्तार हुनसक्छ । त्यसमा प्राकृतिक वातावरण र मौलिकता जोगाउने पक्ष पनि सँगै जोडिन्छ ।
एकादशीको बिहान स्नान र दर्शन सकेर भक्तजन फर्कन्छन्। बाजाको धुन र मानिसको चहलपहल थामिन्छ; पहराबाट झर्ने जलधाराको आवाज भने रहिरहन्छ । फर्कनेका मनमा फेरि आउने चाहना बाँकी रहन्छ। त्यही चाहना र पुस्तौँदेखि सुनिँदै आएको दिदीबहिनीको कथाले गङ्गाजमुनाको पहरामा अर्को मेलाको प्रतीक्षा जीवित राख्ने गर्दछ।



प्रतिक्रिया