काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको तयारी र कार्यशैलीलाई लिएर पाँचवटा प्रश्नसहितको जिज्ञासा व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाह आजदेखि छिमेकी मुलुक भारतको दुईदिने राजकीय भ्रमणमा जान लागेको सन्दर्भमा रिजालले भ्रमणको सफलताको शुभकामना दिँदै भ्रमणपूर्व अपनाइएको प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन्।
उनले भ्रमणअघि राष्ट्रपति र संसदमा रहेका राजनीतिक दलहरूसँग कुनै छलफल तथा परामर्श नगर्नु कूटनीतिक निरन्तरताका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन्।
त्यस्तै, भारतमा रहेका लाखौँ नेपाली नागरिक र उनीहरूका संस्थाका प्रतिनिधिसँग नेपाली दूतावासमा भेटघाट तथा अन्तरक्रिया नगर्नुको कारण पनि उनले खोजेका छन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा निजी क्षेत्रका अगुवाहरू ठूलो संख्यामा सहभागी भए पनि भारतीय उद्योगी-व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम नराखिएको विषयमा समेत रिजालले प्रश्न गरेका छन्।
उनले देशभित्र सामान्य छलफलसमेत नगरेका प्रधानमन्त्रीले दीर्घकालीन महत्त्वका सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्न नैतिक तथा राजनीतिक सामर्थ्य राख्छन् कि राख्दैनन् भन्ने प्रश्नसमेत गरे।
रिजालले प्रधानमन्त्रीको भ्रमणका क्रममा आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्नु व्यक्तिगत समस्या हो वा नेपाल सरकारकै नीति हो भन्दै प्रश्न गरे।
उनले भ्रमणबाट के–कस्ता उपलब्धि हासिल हुन्छन् भन्ने कुरा पछि नै थाहा हुने भए पनि भ्रमणको सुरुवातमै प्रधानमन्त्रीको कार्यशैलीले जिज्ञासा उत्पन्न गराएको बताएका छन्।
यस्तो छ उनको जिज्ञासा:
प्रधानमन्त्री बालेन्द्र शाह आजदेखि छिमेकी राष्ट्र भारतको दुई दिने राजकीय भ्रमण (स्टेट भिजिट) मा जाँदै हुनुहुन्छ। सर्वप्रथम उहाँ भ्रमणको शुभकामना व्यक्त गर्दछु।
भ्रमणबाट के–के उपलब्धि हासिल हुन्छ, थाहा भइहाल्नेछ। तर, सुरुमै प्रधानमन्त्री शाहका व्यवहारका कारण केही जिज्ञासा उत्पन्न भएका छन्:
१. भ्रमणपूर्व राष्ट्रपतिदेखि संसद्मा रहेका दलहरूसँग कसैसँग पनि कुनै छलफल र परामर्श भएन। कूटनीतिमा निरन्तरता र राष्ट्रिय सहमतिले ठूलो महत्व राख्दछ। देशभित्र संसद्मा रहेका दलहरूसँग समेत कुनै परामर्श नगरी भारतसँग एकल र छुट्टै के गर्न लाग्नुभएको हो ?
२. भारतमा लाखौँ नेपाली नागरिकहरू छन्, तिनका धेरै संस्थाहरू क्रियाशील छन्। नेपालका प्रधानमन्त्री भारत पुग्दा नेपाली दूताबासमा उनीहरूसँग प्रतिनिधिमुलक भेट गर्ने र आश्वस्त पार्ने काम गर्दा प्रधानमन्त्रीलाई के आपत आइलाग्दोरहेछ ?
३. नेपालमा भारतीय लगानी भित्र्याउनका लागि अन्तरक्रिया र प्रोत्साहन गर्ने भन्दै प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा ठूलो संख्यामा निजी क्षेत्रका अगुवाहरू पनि छन्। तर, भारतीय उद्योगी–व्यवसायीलाई सम्बोधन गर्न प्रधानमन्त्री तयार हुनुभएनछ। यसो गर्दा उहाँलाई के घाटा हुँदोरहेछ ?
४. देशभित्र सामान्य छलफल पनि नगरेका प्रधानमन्त्रीसँग कुनै पनि दीर्घकालीन सहमतिपत्र वा सम्झौतामा हस्ताक्षर गर्ने नैतिक तथा राजनीतिक सामथ्र्य हुँदैन। त्यसबाट भोलिका दिनमा थप विवाद सिर्जना हुन सक्छ। यसतर्फ बेलैमा सबैले ध्यान दिनुपर्छ।
५. आवश्यक भेटघाट, छलफल र अन्तरक्रिया गर्न नसक्ने, दोहोरो सम्वाद गर्न नसक्ने प्रधानमन्त्रीज्यूको कुनै व्यक्तिगत समस्या हो कि नेपाल सरकारको नीति नै हो ?



प्रतिक्रिया