अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सडक र सदनबाट आवाज उठाउनुपर्छ: अध्यक्ष लिङ्देन

हिन्दूराष्ट्र पुनःस्थापनाका लागि सडक र सदनबाट आवाज उठाउनुपर्छ: अध्यक्ष लिङ्देन


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दूराष्ट्र कायम गर्नुपर्ने बताएका छन् । उनले नेपाललाई हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भूमिका रहेको आरोपसमेत लगाए।

आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले धर्म र राजनीतिलाई अलग गरेर हेर्न नहुने धारणा व्यक्त गरे। राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए।

धर्म र राजनीति एकअर्काका परिपूरक भएको भन्दै उनले दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए। नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा मौलिक पहिचान बोकेको मुलुकमा सनातन हिन्दूराष्ट्रको महत्व रहेको उल्लेख गर्दै लिङ्देनले नेपालको परम्परा, संस्कृति र सभ्यताको संरक्षणका लागि हिन्दूराष्ट्र आवश्यक रहेको बताए।

उनले राजनीतिक दलहरू विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएको आरोप लगाए। नेपाली जनताको भावना र देशको मौलिक पहिचानलाई बेवास्ता गर्दै धर्मनिरपेक्षताको निर्णय गरिएको उनको भनाइ थियो ।

नेपालको राष्ट्रिय पहिचान, धार्मिक स्वतन्त्रता र सनातन संस्कृतिको संरक्षणका लागि हिन्दूराष्ट्र पुनःस्थापनाको विषयलाई राजनीतिक तथा राष्ट्रिय बहसको केन्द्रमा ल्याउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा राप्रपाकी सांसद खुश्बु ओलीले हिन्दूराष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताइन्। उनले राप्रपाले संसद्मा हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउने र संसद्बाहिर धार्मिक गुरुहरूले अभियानलाई सशक्त बनाउनुपर्ने धारणा राखिन्।

धार्मिक गुरुहरूले मठमन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दूराष्ट्र स्थापनाका लागि दबाब दिनुपर्ने उनको आग्रह थियो।