कैलाली-कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार अबको एक महिनाभित्र व्यावसायिक सञ्चालनमा आउने भएको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सञ्चालनको तयारी तीव्र पारिएको हो।
केबलकार सञ्चालक पक्षका अनुसार आयोजनालाई केवल यातायातको माध्यममा सीमित नराखी एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि केबलकारका तल्लो र माथिल्लो स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन्।
आयोजनाको गुरुयोजनाअनुसार स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायत संरचनासमेत निर्माण तथा विकास गर्ने योजना छ।
कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आन्तरिक तथा भारतीय पर्यटक आउने गरेका छन्। केबलकार निर्माणको खबरसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको सञ्चालक पक्षको भनाइ छ।
केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटकको आगमन बढ्नुका साथै उनीहरूको बसाइ अवधि लम्बिने अपेक्षा गरिएको छ। होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय व्यवसाय तथा कृषि उपजको बजार विस्तारमा समेत आयोजनाले योगदान पुर्याउने विश्वास गरिएको छ।
आयोजनाले स्थानीय युवालाई आफ्नै क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्ने र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय अर्थतन्त्र चलायमान हुनुका साथै राज्यको राजस्वमा समेत योगदान पुग्ने सञ्चालक पक्षको विश्वास छ।
आयोजना निर्माणमा स्थानीय बासिन्दा, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सरोकारवाला निकाय, स्थानीय साझेदार सूर्य थापालगायत तथा इन्जिनियर र परियोजना टोलीको सहयोग रहेको सञ्चालक पक्षले जनाएको छ।
सुदूरपश्चिममा पर्यटन पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको यो आयोजना सञ्चालनमा आएपछि चिसापानी-राजकाँडा क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया