विराटनगर-चुडाकवि स्मृति प्रतिष्ठानले कोशी प्रदेशस्तरीय वादविवाद प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी माघ १५ गते मोरङको बूढीगंगा गाउँपालिका–३ नेमुवास्थित स्मृति इङ्लिस स्कुलको प्राङ्गणमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
प्रतिष्ठानले यस वर्षदेखि वादविवाद प्रतियोगितालाई प्रदेशस्तरीय बनाएको हो। यसअघि प्रतिष्ठानले लगातार पाँच संस्करणसम्म मोरङ जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको थियो।
प्रतिष्ठानका महासचिव रिता न्यौपानेका अनुसार प्रतियोगितामा ‘सुशासनका लागि नैतिक शिक्षा कि कानुनको प्रभावकारी कार्यान्वयन?’ शीर्षकमा विद्यार्थीहरूले पक्ष र विपक्षमा आफ्ना तर्क प्रस्तुत गर्नेछन्। प्रतियोगितामा कोशी प्रदेशका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन्।
प्रतिष्ठानका अध्यक्ष सुवास कुमार न्यौपानेका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयले पुस ३० गतेभित्र आवेदन दर्ता गराइसक्नुपर्नेछ। विद्यालयको आधिकारिक लेटरप्याडमा विद्यार्थी र शिक्षक प्रतिनिधिको नामसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। पहिलो दर्ता गर्ने ५१ विद्यालयलाई प्राथमिकता दिइने प्रतिष्ठानले जनाएको छ।

प्रतियोगितामा प्रत्येक विद्यालयले पक्ष र विपक्षमा एक–एक जना विद्यार्थी तयारी गर्न सक्नेछन्। तर गोलाप्रथाबाट पक्ष वा विपक्षमध्ये एउटा विषय निर्धारण भएपछि सोही विद्यालयबाट एक जना विद्यार्थीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। सहभागीले नेपाली वा अंग्रेजी भाषामा आफ्ना विचार राख्न सक्नेछन्। प्रत्येक वक्तालाई पाँच मिनेटको समय दिइनेछ।
प्रतियोगिताको मूल्याङ्कन प्रस्तुति, विषयवस्तुको ज्ञान, भाषा शैली, तार्किक क्षमता, विपक्षीका तर्कको खण्डन तथा निष्कर्षका आधारमा गरिनेछ। प्रतियोगिताको निर्णायकमा सिस्नुपानी नेपालका सचिव तथा प्राध्यापक सरोज घिमिरे, लेखक तथा साहित्यकार सुविन भट्टराई र प्राध्यापक भेषजा काफ्ले रहनेछन्।
प्रतियोगितामा पक्ष र विपक्ष दुवैतर्फका उत्कृष्ट तीन–तीन जनालाई पुरस्कृत गरिनेछ। दुवै समूहको प्रथम हुनेले जनही ५१ हजार, द्वितीय हुनेले ३१ हजार र तृतीय हुनेले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विजेता विद्यार्थी तथा विद्यालयलाई ट्रफी, शिल्ड र प्रमाणपत्रसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
सामाजिक अभियन्ताद्वय चुडामणि न्यौपाने र कवितादेवी न्यौपानेको स्मृतिमा स्थापित प्रतिष्ठानले विद्यार्थीको बौद्धिक क्षमता, तार्किक सोच, नेतृत्वकला र व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएको छ।



प्रतिक्रिया