काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालैको भारत भ्रमणले नेपाललाई लज्जित बनाएको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीले विगतमा राष्ट्रियताको विषयमा चर्का अभिव्यक्ति दिने गरे पनि भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र सीमा विवादका विषयमा बोल्न नसकेको आरोप लगाए।
प्रेस चौतारी नेपाल, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सरोकारका विषयमा उपलब्धिमूलक हुन नसकेको बताए।
महासचिव पोखरेलले काठमाडौं महानगरपालिकाको मेयर हुँदा कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्ने र हरेक विदेश भ्रमणका क्रममा अर्ती–उपदेश दिने प्रधानमन्त्रीले भारत भ्रमणमा भने नेपालको हितका विषय उठाउन नसकेको टिप्पणी गरे।
‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती-उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका सीमा विवादका विषयमा भारतसँग छलफलसमेत नभएको भन्दै असन्तुष्टि जनाए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा नरहेको बताएको उनको भनाइ थियो।
नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि एमाले नेतृत्वको सरकारका पालामा गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेको अवस्थामा प्रधानमन्त्रीले त्यसलाई स्वीकार गरी कार्यान्वयन गर्न आग्रह गर्न नसकेको पनि उनले बताए।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको हवाई रुटको विषयमा समेत भ्रमणबाट ठोस सहमति हुन नसकेको पोखरेलको आरोप छ।
‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ,’ उनले भने।
त्यस्तै, भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त गर्नुलाई उपलब्धिका रूपमा प्रचार गरिएको भन्दै उनले प्रश्न उठाए। विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई उपलब्धिका रूपमा प्रस्तुत गर्न थालेको उनको टिप्पणी थियो।



प्रतिक्रिया