अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न आङ्देम्बेको माग

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न आङ्देम्बेको माग


काठमाडौं-नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर विभिन्न उच्चपदस्थ व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको भन्ने आरोपको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन्।

सापकोटाले आफ्नी श्रीमती कविता पाण्डेमार्फत शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता उमेश श्रेष्ठलगायतका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख गरेपछि आङ्देम्बेले यस्तो माग गरेका हुन्।

निवेदनमा बयान दिए रिहा गरिदिने तथा नदिए फसाइदिने धम्की दिइएको दाबी गरिएको छ। उक्त आरोप सार्वजनिक भएपछि आङ्देम्बेले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिने जोसुकैलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले हिरासतमा रहेका व्यक्तिलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भएको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन्।

उनले हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गरेको भनिएको विषय, बयान तयार पार्ने प्रक्रिया र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकासमेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्।

‘सरकार इनम सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धान गरिरहेको छ कि नियोजित रूपमा फसाउने षड्यन्त्रको तानाबाना बुनिरहेको छ ?’ भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्।

अनुसन्धानको नाममा कसैलाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हुने उनको भनाइ छ।

प्रधानमन्त्रीबाट यस विषयमा स्पष्ट जवाफ आउने अपेक्षा कमै रहेको उल्लेख गर्दै आङ्देम्बेले राज्यका अनुसन्धानकारी निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुनेमा जोड दिएका छन्।

कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनका लागि दशकौँदेखि लड्दै आएको पार्टी भएको स्मरण गराउँदै उनले फरक विचार राख्नेलाई फसाउने पटकथा नभई न्याय सुनिश्चित गर्ने कानुन आवश्यक रहेको बताएका छन्।

‘राज्यसत्ता कसैको निजी प्रतिशोध साँध्ने औजार हुँदै होइन। सरकार क्षणिक सनकमा होइन, संविधान र विधिको शासनमा चल्नुपर्छ,’ उनले भनेका छन्।

आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।