काठमाडौं– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघले आजदेखि राजनीतिक दलका कार्यालयमा धर्ना सुरु गरेको छ।
महासंघको आह्वानमा पहिलो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालयअगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरूले धर्ना दिएका हुन्।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघले दोस्रो चरणको आन्दोलन सुरु गरेको हो।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्याउनेमाथि कारबाही नभएको भन्दै महासंघले सरकारमाथि दबाब बढाएको छ।
महासंघ अध्यक्ष निर्मला शर्माले गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषय पनि आन्दोलनका प्रमुख एजेण्डा रहेको बताइन्।
महासंघले सार्वजनिक गरेको कार्यक्रमअनुसार आज रास्वपा कार्यालयमा धर्ना दिएपछि भोलि नेपाली कांग्रेस, पर्सि नेकपा एमाले, मंसिर १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालयमा धर्ना दिनेछ।
त्यस्तै, मंसिर २० गते काठमाडौंको माइतीघरलगायत देशभरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी दिए।



प्रतिक्रिया