काठमाडौं-सरकारले सरकारी कार्यालयमा सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरे पनि सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले भने आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्था आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको हो। गाउँपालिकाले मंसिर १३ गतेदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जारी गरेको सूचनामा स्थानीय भौगोलिक बनावट र इन्धन खपतको अवस्थालाई हेर्दा सातामा दुई दिन सार्वजनिक बिदा दिनु सान्दर्भिक नदेखिएको उल्लेख छ।
सूचनामा भनिएको छ, ‘यहाँको भौगोलिक बनावट र सवारीसाधनमा पेट्रोलियम पदार्थको प्रयोग अन्य सहरी क्षेत्रको तुलनामा कम हुने भएकाले इन्धन बचतका लागि सातामा दुई दिन बिदा दिनु सान्दर्भिक देखिएन।’
विशेषगरी आइतबार स्वास्थ्य संस्थामा बिदा दिँदा दुर्गम क्षेत्रका बिरामी नियमित उपचारबाट वञ्चित हुन सक्ने र आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा समेत कठिनाइ हुने गाउँपालिकाको ठहर छ।
सरकारले अन्तर्राष्ट्रिय परिस्थितिका कारण पेट्रोलियम पदार्थको आपूर्ति तथा मूल्यमा देखिएको असहजता र इन्धन खपत व्यवस्थापन गर्ने उद्देश्यले गत चैत २३ गतेदेखि सरकारी कार्यालय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो।
तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले स्थानीय भौगोलिक अवस्था र सेवा प्रवाहको आवश्यकतालाई ध्यानमा राख्दै सातामा शनिबार मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।




प्रतिक्रिया