काठमाडौं-नेकपा एमालेका नेता विशाल भट्टराईले बितेका ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गर्ने अवसर पाए पनि उल्लेखनीय काम गरेको दाबी गरेका छन्।
२०७४ सालको निर्वाचनपछि केपी शर्मा ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरिरहेका बेला भूराजनीतिक चलखेलका कारण पूरा कार्यकाल सरकार सञ्चालन गर्न नदिइएको उनको जिकिर छ।
नेकपा एमालेका जनसंगठन समन्वय प्रमुखसमेत रहेका भट्टराईले ललितपुरमा आयोजित पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन्।
उनले संगठनमा अप्ठ्यारो परिस्थिति आउँदा पनि साथमा रहने व्यक्तिहरूले नै संगठनको साख जोगाउने बताए। संगठनमा प्रतिकूल अवस्था आउँदा केही व्यक्ति अताल्लिने र केहीले साथ छाड्ने प्रवृत्ति स्वाभाविक भए पनि कठिन समयमा संगठनको पक्षमा उभिनेहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
भट्टराईले अनुकूल समयमा राजनीतिक नियुक्ति र अवसर खोज्नेहरू धेरै हुने तर अप्ठ्यारो समयमा नेतृत्वले सम्पर्क गर्दा फोनसमेत नउठाउने प्रवृत्ति रहेको टिप्पणी गरे।
‘आफ्नो पार्टीको सरकार बन्यो भने राजनीतिक नियुक्ति र गतिला ठाउँ माग्नेहरूको भिड लाग्छ। त्यसबेला नेतृत्वमा बसेको मान्छेले फोन उठाएन भने धेरै ठूलो आलोचना खेप्नुपर्छ। तर अप्ठ्यारो समयमा नेतृत्वले फोन गर्यो भने केही मान्छेहरू फोन उठाउँदैनन्,’ उनले भने।
उनले नियुक्तिका लागि गरिएको फोन नेतृत्वले व्यस्तताका कारण उठाउन नभ्याउँदा आलोचना खेप्नुपर्ने तर संगठन संकटमा परेका बेला नेतृत्वले गरेको फोन नउठाउँदा त्यसलाई सामान्य रूपमा लिने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
राजनीतिमा अनुकूलता र प्रतिकूलता निरन्तर आइरहने भन्दै उनले दुवै परिस्थितिको सामना गर्न सक्ने संगठन र नेता आवश्यक रहेको बताए।
‘मान्छेको जीवनजस्तै हो राजनीति, अप्ठ्यारा र प्रतिकूलताहरू सधैँ आइरहन्छन्। अनुकूलता र प्रतिकूलता सर्वकालीन र सर्वव्यापी छन्। संसारमा कुनै व्यक्ति र संस्था छैनन्, जसलाई सधैँ अनुकूलता मात्र होस् वा प्रतिकूलताले मात्र घेरिरहोस् भन्ने हुँदैन,’ भट्टराईले भने।
उनले अनुकूलता र प्रतिकूलता दुवै परिस्थितिको सामना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।



प्रतिक्रिया