अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण कोरियामा नेपाली कामदारका लागि प्रवेशाज्ञा थप

दक्षिण कोरियामा नेपाली कामदारका लागि प्रवेशाज्ञा थप


काठमाडौं- दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा) मा आएर काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ ।

विशेषगरी कोभिड-१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रूपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो ।

प्रवेशाज्ञा थप हुनेमा एफ-१ (भ्रमण तथा पारिवारिक भिसा), एफ-३ (डिपेन्डेन्ट भिसा), एच-२ (भ्रमण तथा काम गर्ने भिसा), ई-९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन् यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ । यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ ।

अस्थायी प्रवेशाज्ञा प्राप्त गर्ने कामदारले कृषि तथा मत्स्यपालनमा काम गर्ने अनुमति प्राप्त गर्नेछन् । विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारण कोरियामा करिब एक वर्षदेखि विदेशी कामदार भित्रिएका छैनन् ।

लामो समयदेखि विदेशी कामदार नभित्रिदा हुन गएका कामदारको अभावलाई पूर्ति गर्न पनि सो नियम ल्याइएको मन्त्रालयले बताएको छ । कोरियाले अस्थायी मौसमी कामदारको रूपमा गत वर्ष ७९ हजारको प्रवेशाज्ञा थप गर्ने तयारी गरेको छ ।

त्यसैगरी, मौसमी कामदारको रूपमा ९० दिनभन्दा धेरै प्रवेशाज्ञा प्राप्त गरेका कोरियाली मूलका विदेशी नागरिकले विभिन्न शुल्कमा छुट पाउने बताइएको छ । उनीहरूले प्रवेशाज्ञा परिवर्तन गर्न चाहेमा प्रवेशाज्ञा परिवर्तनका लागि पनि नियम खुकुलो पार्ने बताइएको छ ।