काठमाडौं-भोलि (२०८३ कात्तिक १६ गते) देखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ। जाडोयाम सुरु भएसँगै सरकारले सरकारी कार्यालय सञ्चालन समय एक घण्टा घटाएर बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो।
नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार २०८३ कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकाय साताको पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन्।
यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। हिउँदमा साँझ चाँडै अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो।
सरकारको निर्णयअनुसार उक्त अवधिमा सरकारी कार्यालय तथा सार्वजनिक निकायको नियमित कामकाज दिउँसो ४ बजेसम्म हुनेछ।
यसअघि गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सरकारले उक्त निर्णयलाई निरन्तरता दिँदै आएको छ।
यससँगै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय सातामा पाँच दिन र दैनिक सात घण्टा सञ्चालन हुनेछन्।





प्रतिक्रिया