काठमाडौं–नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको स्वेच्छाचारिता र गैरकानुनी गतिविधिले सीमा नाघेको आरोप लगाएका छन्। सभापति थापाले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हुने हस्तक्षेपविरुद्ध कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।
कात्तिक १५ गते आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर आपत्तिजनक भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको सभापति थापाले बताए।
नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरू रिहा भए पनि घटनालाई केही पत्रकार पक्राउ परेको र छुटेको विषयमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो। यसले राज्यले आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताए।
‘केही समाचार प्रकाशित भएको आधारमा प्रहरी केही मिडिया हाउसमा प्रवेश गरेर पत्रकारहरूलाई गिरफ्तार गरेको हामीले देख्यौँ। यो घटनाले शाही कालको याद दिलायो। विरोध र प्रश्न उठेपछि पत्रकार साथीहरू रिहा हुनुभयो। केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब ? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो,’ सभापति थापाले भने।
सभापति थापाले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे। सरकारको यस्तो प्रवृत्तिलाई सामान्यीकरण नगर्न नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई उनले आग्रह गरे।
कांग्रेसले आवश्यकताअनुसार सरकारलाई सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने भए पनि लोकतन्त्र, नागरिक अधिकार र मौलिक हकमाथि हस्तक्षेप भए सरकारका गलत कदमको प्रतिवाद गर्ने उनको भनाइ थियो।
‘जहाँ साथ दिनुपर्ने हो, दिन्छौँ। जहाँ सहयोग गर्नुपर्ने हो, गर्छौं। तर लोकतन्त्र, नागरिकको अधिकार र जनताको मौलिक हकका विषयमा सरकारले सीमा नाघ्छ भने हामी चुप बस्दैनौँ। प्रश्न गर्छौं, उपयुक्त नीतिको पैरवी गर्छौं र आवश्यकता परे प्रतिवाद तथा प्रतिरोध पनि गर्छौं,’ सभापति थापाले भने।
सभापति थापाले सरकारका गलत कामकारबाहीप्रति प्रश्न उठाए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका गलत कदमप्रति औपचारिक वक्तव्य जारी गरेर मात्र जिम्मेवारी पूरा नहुने सभापति थापाले बताए।
विगतमा कांग्रेस गठबन्धन सरकारमा सहभागी हुँदा सरकारका गलत कामविरुद्ध रास्वपाका नेताहरूले प्रश्न उठाउने गरेको स्मरण गराउँदै सभापति थापाले अहिले आफ्नै पार्टी सरकारमा हुँदा त्यही मापदण्ड लागू नहुने हो भन्दै प्रश्न गरे।
‘हामी विगतमा गठबन्धन सरकारमा हुँदा पनि सरकारले कुनै नराम्रो काम गरे त्यसको विरुद्धमा स्पष्ट रूपमा आवाज उठाउँथ्यौँ। त्यसबेला रास्वपाका नेता तथा सांसदहरूले कांग्रेसले गल्ती गर्यो, यसको जवाफ दिनुपर्छ भन्नुहुन्थ्यो। तर आज आफ्नै पार्टी संलग्न रहेको सरकारको हकमा चाहिँ यो विषय लागू नहुने हो ?’ सभापति थापाले प्रश्न गरे।
रास्वपाले सरकारका गलत कदमप्रति औपचारिक वक्तव्य जारी गरेर मात्र नपुग्ने भन्दै थापाले संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई नै उपस्थित गराई स्पष्ट निर्देशन दिनुपर्ने बताए।
‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ। साँच्चिकै निष्ठा बाँकी छ भने रास्वपा संसदीय दलको बैठक बसोस्, त्यहाँ प्रधानमन्त्रीलाई बोलाइयोस्, उहाँलाई स्पष्ट निर्देशन दिइयोस् र त्यो निर्देशन कार्यान्वयनमा लगियोस्,’ उनले भने।
सरकारको अधिकार प्रयोग कानुनी सीमाभित्र हुनुपर्नेमा जोड दिँदै थापाले विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्तिविरुद्ध कांग्रेसले निरन्तर आवाज उठाउने बताए।



प्रतिक्रिया