अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ’

‘ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ’


चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेकपाको जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आज आयोजना गरेको शपथग्रहण कार्यक्रममा उहाँले तोकिएको समयमा निर्वाचन स्पष्ट गर्नुभयो । आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ ।

नेता पोखरेलले निर्वाचन आयोग तयारीमा लागेको भन्दै उहाँले सबै कार्यकर्तालाई पुराना अन्तरविरोध त्यागेर निर्वाचनमा जुट्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘औपचारिकरुपमा विभाजनमा गएका साथीहरुलाई छाडेर सबै एक भएर निर्वाचनमा लाग्नुस्, निर्वाचन हुन्छ ।’ पार्टीभित्रबाट नै काम गर्ने वातावरण नबनाएपछि ताजा जनादेशमा जान लागिएको उहाँले बताउनुभयो ।

पार्टीको आधिकारिकताको विषयमा चिन्ता नगर्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओली जहाँ हुनुहुन्छ, त्यहीँ सूर्य चिह्न हुन्छ । पहिला निर्वाचनमा सूर्य चिह्न लिन नमान्नेहरूले अहिले आफ्नो भन्नु हास्यास्पद हो ।’

पार्टीभित्रको आन्तरिक कलहका कारण देश यो अवस्थामा आएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीविरुद्ध अयोग्य भनेर अभियोग पत्र ल्याएपछि विग्रहको बाटोमा लागेका कारण यो समस्या आएको उहाँले बताउनुभयो ।

राजनैतिक स्थिरता, राष्ट्रिय स्वाधीनता र अराजकता अन्त्यका लागि पार्टी एकता गरिएको भन्दै उहाँले अहिले एकताको जस्तो आकर्षण हराएको बताउनुभयो । तीन वर्षको समयमा पार्टीको क्रियाशीलता नभएको भन्दै उहाँले अबको पार्टीका कार्यकर्ताहरु जिम्मेवारी बन्ने समय आएको जिकिर गर्नुभयो ।