अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘लोकतन्त्रमा जीत र हारको फैसला जनताबाट हुन्छ’

‘लोकतन्त्रमा जीत र हारको फैसला जनताबाट हुन्छ’


दमौली- गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला जनता तथा निर्वाचनबाट हुने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले मङ्गलबार बदर गरेपछि आज मन्त्री गुरुङले लोकतन्त्रमा जीत र हारको फैसला अदालतले नभई जनता र निर्वाचनले गर्ने उल्लेख गर्नुभयो ।

‘प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान छ । संसदीय प्रणालीमा मध्यावधि निर्वाचन र ताजा जनादेशको घोषणा कहिल्यै प्रतिगमन हुन सक्दैन र होइन,’ नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका गुरुङले भन्नुभयो, ‘यो त संसदीय मूल्य, मान्यता र सिद्धान्तकै लोकतान्त्रिक अभ्यासहरू हुन् । त्यसैले यससम्बन्धी हिजो सर्वोच्चले गरेको फैसला पनि लोकतन्त्र र जनताको हार र जीतको फैसला नभई, मात्र एउटा अभ्यास र अदालती मुद्दाको फैसलामात्र हो ।’

त्यस्तै, गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले नेकपालाई एकताबद्ध बनाउन अविश्राम पहल गर्नुपर्ने बताउनुभयो । मन्त्री चुमानले अझै पनि एकता सम्भव रहेको उल्लेख गर्नुभयो । ‘नबहकिऔँ, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व ग्रहण गरौँ,’ नेकपाका केन्द्रीय सदस्य एवं प्रचण्ड-माधव नेपाल समूहका नेता चुमानले भन्नुभयो, ‘हामी आफैँले बनाएको संविधानको अदालतले सम्मान गर्‍यो भनेर बुझौँ ।’