अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधव सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ : मुख्यमन्त्री पोखरेल

प्रचण्ड-माधव सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ : मुख्यमन्त्री पोखरेल


काठमाडौं- संस्थापन नेकपाका स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटन गर्नुको उद्देश्य दुई महिनाको अवधिमा पूरा गरिसकेका बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले संसद पुनर्स्थापना भएर केही नबिग्रिएकोसमेत बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद पुनर्स्थापना भएर केही बिग्रिएको छैन ।’

साथै, उहाँले प्रचण्ड-माधव गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभयो ।

‘उहाँहरूले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौ भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्ने कुरा गर्नुहुन्छ,’ उहाँले भनुभयो, ‘उहाँहरूले जितेको परिणाम के हो त भन्दाखेरी कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्दै हुनुहुन्छ ।’

नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको भन्दै जनताको बीचमा यसै विषयलाई लिएर जाने बताउनुभयो । उहाँले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दाबी पनि गर्नुभयो ।

प्रतिनिधिसभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षड्यन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उहाँले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताउनुभयो ।