अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सरकार परिवर्तन गर्न लाग्नेहरू निरास हुँदैछन्’

‘सरकार परिवर्तन गर्न लाग्नेहरू निरास हुँदैछन्’


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरूलाई आग्रह गर्नुभएको छ । कम्प्युटर एसोसिएशन नेपाल महासंघको २७औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताउनुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, ‘अब सरकार परिवर्तन गर्न लाग्नेहरू निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरुरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ ।’

सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै उहाँले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गर्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उहाँको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल हुनुभयो ।’

फरक प्रसङ्गमा उहाँले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार नै सरकारले प्रत्येक घरघरमा इन्टरनेट सेवा पुर्‍याउने योजनालाई तीव्रता दिएको जानकारी दिनुभयो । उहाँले त्यसका लागि सम्भव हुने स्थानमा अप्टिकल फाइबर र नहुने स्थानमा वायरलेसबाट भए पनि इन्टरनेट पुर्‍याउने योजना सुनाउनुभयो ।