अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पन्तद्वारा वलीलाई पिंडुला देखाएर सांसद भएको आक्षेप

पन्तद्वारा वलीलाई पिंडुला देखाएर सांसद भएको आक्षेप


काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वलीलाई गम्भीर आक्षेप लगाउनु भएको छ ।

पन्तले वलीलाई आक्षेप लगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा पन्तले वलीले पिडुँला देखाएर राष्ट्रियसभा सदस्य र नेकपाको केन्द्रीय सदस्य पाएको आक्षेप लगाउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर पन्तले भिडियोमा यस्तो भन्नुभएको छ : ‘छन् अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’

पन्तको भिडियो सार्वजनिक भएपछि सांसद वलीले आपत्ती जनाउनुभएको छ । उहाँले पन्तलाई निचको संज्ञा दिनुभएको छ । वलीले पन्तलाई प्रश्न गर्दै भन्नुभएकोछ, ‘तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरू को कसलाई पिडुंला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ?’

वलीले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल थाहा आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न : तपाईंको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरूले को कसलाई पिडुंला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईंको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

पन्तको यो भनाइको सामाजिक सञ्जालमा तीव्र्र विरोध भइरहेको छ । यसले राजनीतिमा लागेका महिलाको चरित्रमाथि गम्भीर आक्षेप लागेको भन्दै महिला अधिकारकर्मीले कानुनी उपचार खोज्ने जनाएका छन् ।