अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहजिल्ला झापामा प्रधानमन्त्री ओलीको भव्य स्वागत

गृहजिल्ला झापामा प्रधानमन्त्री ओलीको भव्य स्वागत


झापा- प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नु भएको छ । उहाँ यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार बिहान झापा आइपुग्नुभएको हो । प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि प्रधानमन्त्री ओली पहिलो पटक गृहजिल्ला आउनुभएको हो ।

प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईँ, सांसद्, केन्द्रीय नेता, स्थानीय तहका प्रमुख विमानस्थल पुग्नु भएको थियो ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, नेकपा नेता सुवास नेम्बाङ, महान्यायाधिवक्ता अग्नि खरेल पनि झापा आउनु भएको छ ।

प्रधानमन्त्री ओली विमानस्थलबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रस्थान गरिसक्नु भएको छ ।

प्रधानमन्त्री ओलीले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने पक्की पुलको उद्घाटन गर्ने पहिलो कार्यक्रम रहेको छ ।

त्यसैगरी दमक नगरपालिका-१० मा रहेको मावा खोलाको पुल उद्घाटन, बहुचर्चित नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास, इलामको चुलाचुली जोड्ने पुलको उद्घाटन, मदन भण्डारी मार्गअन्तर्गत दमकको बेलडाँगी र इलामको बुकुवाबिचको रतुवा खोलाको पुलसहित अन्य ३१ वटा पुलको संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली आइतबार साँझ ५:३० बजे भद्रपुरबाटै यति एयरको जहाजबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।