अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘बिएण्डसी टिचिङ हस्पिटललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन्छ’

‘बिएण्डसी टिचिङ हस्पिटललाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन्छ’


झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताउनुभएको छ । उहाँले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्धनको कार्य पनि अघि बढेको बताउनुभयो । उहाँले यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईंले निजी लगानीमा सञ्चालनमा ल्याएको क्यान्सर अस्पताल विश्वस्तरकै आधुनिक भएको तथा यसमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति रहेको भनी प्रशंसा गर्दै विश्वस्तरको अस्पतालबाट जनताले सस्तो र सुलभ मूल्यमा उपचार पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सो अस्पतालले अन्य देशका भन्दा सस्तो र भरपर्दो उपचार दिने हुँदा विदेशीसमेत आउने अपेक्षा व्यक्त गर्नुभयो । अर्को प्रसङ्गमा उहाँले प्रसाईँले मार्सी चामलाई ब्रान्ड बनाइदिएको तथा चाँडै मार्सी बियर बजारमा ल्याउने तयारी गरेको जानकारी आफूले पाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रसङ्गमा आफूलाई कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ/दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।”

उहाँले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताउनुभयो ।