अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टी-२० सिरिज : अष्ट्रेलियासँग न्यूजिल्याण्ड ६४ रनले पराजित

टी-२० सिरिज : अष्ट्रेलियासँग न्यूजिल्याण्ड ६४ रनले पराजित


काठमाडौं- अष्ट्रेलियाविरुद्धको टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्ड ६४ रनले पराजित भएको छ । तेस्रो टी-२० मा अष्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।

उसका लागि मार्टिन गुप्टिलले ४३, डेभन कोनवेले ३८, मार्क चेपम्यानले १८, ग्लेन फिलिप्सले १३ रन बनाउनुभयो । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङबाट स्पिनर वेस अगरले महत्वपूर्ण योगदान दिनुभयो । उहाँले ४ ओभरमा ३० रन दिएर ६ विकेट लिनुभयो । टी-२० करियरमा अगरको यो उच्च बलिङ प्रदर्शन हो ।

त्यस्तै, रिले मेरिडीथले दुई, एडम जम्पा र केन रिचडर्सनले एक/एक विकेट लिनुभयो । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाउनुभयो ।

उसका लागि कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्नुभयो । फिन्चले ४४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६९ रनको पारी खेल्नुभयो । त्यस्तै, म्याक्सवेलले ३१ बलमा ८ चौका र ५ छक्काको सहयोगमा ७० रन बनाउनुभयो ।

त्यस्तै, जोश फिलिपले ४३, म्याथू वेडले ५, मार्कस स्टोइनिसले ९ र मिचेल मार्शले अविजित ६ रन बनाउनुभयो । बलिङमा ईश सोधीले दुई, ट्रेन्ट बोल्ट, टिम साउथीले एक/एक विकेट हात पारे ।

आजको जितसँगै सिरिज २-१ को अवस्थामा पुगेको छ । पहिलो दुई खेलमा न्यूजिल्याण्डले जित हात पारेको थियो । यी दुई टिमबीचको चौथो टी-२० शुक्रबार हुनेछ ।