अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु, प्रधानमन्त्री ओलीद्वारा सम्बोधन

सेनाको पृतनापति समन्वयात्मक बैठक सुरु, प्रधानमन्त्री ओलीद्वारा सम्बोधन


काठमाडौं- नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक २०७७ जंगी अड्डामा सुरु भएको छ । बैठक प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आजदेखि सुरु भएको हो ।

बैठक शुभारम्भका क्रममा मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाको व्यवसायिकता, लगनशीलता र कर्तव्यबोधको भावनाको उच्च प्रशंसा गर्नुभएको नेपाली सेनाले जनाएको छ । प्रधानमन्त्री ओलीले ६/६ महिनामा आयोजना हुने रणनीतिक तहको यस बैठकले विगतको गहन समीक्षासहित नेपाली सेनाको भावी कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्‍वास व्यक्त गर्नुभयो ।

उहाँले बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषतः नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्‍वस्त रहेको समेत बताउनुभएको थियो ।

सो अवसरमा प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको र यो समन्वयात्मक वैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भइरहेका कार्यहरुको बारेमा समीक्षा गर्ने बताउनुभयो ।

उहाँले सेनाको कार्य संचालनमा आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न बैठकले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत मन्तव्य राख्दै राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिको सफल कार्यान्वयनको लागि दक्ष, व्यवसायिक र उच्च मनोबल भएको जनशक्तिको विकासमा नेपाल सरकारबाट प्राप्त निरन्तर सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो।

समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावहरु सहितको प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पि.एस.ओज. रथीबृन्द, सबै पृतनाका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिति रहेको थियो ।