अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता खड्काको निधन

कांग्रेस नेता खड्काको निधन


काठमाडौं- नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको निधन भएको छ । उहाँको ८० वर्षको उमेरमा काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

बेनी नगरपालिका-८ सङ्गमचोक निवासी उहाँ अकस्मात् बिरामी पर्नुभएको थियो । कांग्रेस म्याग्दीका अनुसार खड्कालाई आइतबार हेलिकोप्टरबाट काठमाडौं ल्याएको थियो ।

उहाँ गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत हुनुभएको थियो । उहाँ मुटुसम्बन्धी रोगको औषधि सेवन गर्नुहुन्थ्यो ।

कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बन्नुभएको थियो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष उहाँ जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात हुनुहुन्थ्यो ।

एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहनुभएका उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित हुनुहुन्थ्यो ।

पूर्वसभापति खड्काको निधनप्रति कांग्रेसका नेताकार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

उहाँको आज नै काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्परानुसार दाहसंस्कार गरिने कांग्रेस नेताहरूले बताएका छन् ।