अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्वार्कोमा ‘फ्लाइ ओभर’ बनाइने

ग्वार्कोमा ‘फ्लाइ ओभर’ बनाइने


काठमाडौं- सडक विभागले चालू आर्थिक वर्षमा ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । सरकारले चक्रपथका विभिन्न स्थानमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएकामा सबैभन्दा पहिले ग्वार्कोमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ ।

‘फ्लाइ ओभर’ निर्माणका लागि चालु आवमै ठेक्का सम्झौता भए पनि आगामी वर्ष निर्माणको काम हुने विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार अहिले यसको डिजाइनको काम भइरहेको छ । विभागले सातदोबाटो र एकान्तकुनामा पनि ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । यी दुई स्थानमा आगामी वर्ष मात्रै प्रक्रिया शुरु हुने उहाँले बताउनुभयो ।

चीन सरकारले चार वर्ष पहिले विस्तार गरेको कोटेश्वरऔकलङ्की सडकको तीन चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाइएको हो । विभागले आगामी वर्षमा सवारी चाप बढी भएका चोकमा ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । चक्रपथकै अरू चोकमा र शहरी क्षेत्रका विभिन्न चोकमा ‘फ्लाइ ओभर’ निर्माण गर्दै जाने बताइएको छ ।

नेपालमा अहिलेसम्म ‘फ्लाइ ओभर’ निर्माण भई नसकेको भए पनि यसअघि बलम्बुमा निर्माण शुरु भएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण गर्दा सोही योजनाअन्तर्गत त्यहाँ ‘फ्लाइ ओभर’ निर्माण गर्न लागिएको हो । आगामी तीन वर्षमा आयोजना सम्पन्न हुँदा ‘फ्लाइ ओभर’ पनि निर्माण भइसक्ने छ ।

सरकारले आफ्नै लगानी र वैदेशिक लगानी दुवैमार्फत ‘फ्लाइ ओभर’ निर्माणको योजना बनाएको छ । चीन सरकारले नै निर्माण गर्ने भनिएको कलङ्कीबाट धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘अण्डर पास’ र ‘फ्लाइ ओभर’ निर्माण गर्ने गरी डिजाइन भएको थियो ।

काठमाडौं उपत्यकाको बढी सवारी चाप रहेको चोकमा पर्ने थापाथली र जडीबुटी चोकमा पनि ‘फ्लाइ ओभर’ निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले चासो देखाएको छ ।

नियोगले अध्ययन र छलफल गरे पनि ठोस रूपमा कुनै निर्णय भने भइसकेको छैन । उपत्यकामा धेरै ठाउँमा सडक विस्तार गरिए पनि चोकमा सवारी चाप कम नभएकाले ‘फ्लाइ ओभर’ निर्माणको आवश्यकता भएको हो ।